मानवअधिकार उल्लङ्घन र ज्यादतीबाट महिला र बालबालिका पीडित

पोखरा, ७ फागुन/अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा नेपाल मानवअधिकार वर्षपुस्तक २०१६ को क्षेत्रीय स्तरबाट सार्वजनिकीकरण कार्यक्रम शुक्रबार पोखरामा गरेको छ । कार्यक्रममा जिल्ला अदालतका न्यायाधीश अनन्तराज डुम्रेले नेपाल मानवअधिका वर्ष पुस्तक–२०१६ क्षेत्रीय स्तरबाट पोखरामा सार्वजनिक गरे ।

मानवअधिकार उल्लङ्घन र ज्यादतीबाट महिला र बालबालिका पीडित
मानवअधिकार उल्लङ्घन र ज्यादतीबाट महिला र बालबालिका पीडित

कार्यक्रममा न्यायाधीश डुम्रेले मानवअधिकार र कानुनी सासनका सवालमा वर्षपुस्तक महत्वपूर्ण दस्तावेज भएको भन्दै वर्षपुस्तकलाई अझै विश्वसनीय बनाउनका लागि घटनाको सत्य, तथ्य, सुचनामा सुद्धता र निष्क्षतामा जोड दिनु पर्ने बताए । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले मानवअधिकारको संरक्षकका रुपमा इन्सेकले सरकारी, गैरसरकारी, मानवअधिकारवादी तथा नागरिक समाज लगायतका सरोकारवाला निकायसंग समन्वय र सहकार्य गर्दै काम गरेको बताए ।

कार्यक्रममा इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेलले सन् २०१५ मा पश्चिमाञ्चल क्षेत्रको मानवअधिकार अवस्था सन्तोषजनक नरहेको र अघिल्लो वर्षको तुलनामा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा सङ्ख्यात्मक रुपमा केही कमी आएपनि उल्लङ्घनको प्रकृतिमा भने सुधार नभएको बताए । उनले यो वर्ष २४ जना महिलाको हत्या भएकोमा घर परिवारबाट मात्रै १९ जना महिलाको हत्या भएको बताए ।

इन्सेकको अभिलेख अनुसार पश्चिमाञ्चल क्षेत्रमा सन् २०१५ मा ४ सय ३७ जना महिलासहित ५ सय ५७ जना नागरिक मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पीडित भएका छन् । मानवअधिकार उल्लङ्घनमा राज्यपक्षबाट ९ जना महिलासहित ७३ जना र गैरराज्यपक्षबाट ४ सय २८ जना महिलासहित ४ सय ८४ जना पीडित भए । यस अवधिमा राज्यपक्षबाट ३ जना महिलासहित ८ जनाको गोली, लाठी प्रहारबाट हत्या भयो भने गैरराज्यपक्षबाट २१ जना महिलासहित ४१ जनाको हत्या भयो ।

यो वर्ष भएका घटनामा बालबालिका र महिला सवैभन्दा बढी पीडित भएकोमा बालअधिकारबाट १ सय ६४ जना बालबालिका, महिला अधिकारबाट २ सय ४६ जना महिला पीडित भएका छन् । अघिल्लोवर्ष सन् २०१४ मा पश्चिमाञ्चल क्षेत्रमा ७ सय ९९ जना नागरिक मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पीडित भएकोमा राज्यपक्षबाट १ जनाको गोली प्रहारबाट हत्या भएको थियो भने गैरराज्यपक्षबाट २५ जना महिलासहित ४० जनाको हत्या भएको थियो ।

कमेन्टहरु
Loading...