अब पोखराबाट नै पाइन्छ ट्रान्सक्रिष्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्र

पोखरा, २९ माघ/उच्च माध्यमिक शिक्षा परिषदले सेवालाई छिटो छरितो बनाउनका लागी पोखरामा सर्टिफिकेट एण्ड एकाउन्टिङ इन्फरमेशन म्यानेजमेन्ट सिस्टम लागु गरि प्रमाणपत्र प्रदान गर्ने भएको छ । फागुन पाचँ गतेबाट उच्च माध्यमिक शिक्षा परिषद पोखरा कार्यालयबाट सेवा प्रदान गर्न लागेको आज आयोजीत पत्रकार सम्मेलनमा उच्च माध्यमिक शिक्ष परिषदका प्रवक्ता नारायण प्रसाद कोइरालाले जानकारी दिए ।

अघिल्लो वर्ष देखि लब्धाङ्कपत्र पोखरा कार्यालयबाट दिन शुरु गरेको कार्यालयले यस वर्षबाट ट्रान्सक्रिष्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्र दिइने प्रवक्ता कोइरालाले बताए । उनले पोखरा कार्यालयबाट नै सबै प्रमाणपत्र पाउने भए पछि गण्डकी र धौलागिरी अञ्चलमा विद्यार्थीहरुलाई काठमाडौ धाउनु पर्ने र महिना दिन सम्म कुर्नु पर्ने अवस्थाको अन्त्य हुने बताए । गण्डकी धौलागिरी अञ्चलमा ४ सय ७२ उच्च माध्यमिक तहमा करिब ६० हजार विद्यार्थी अध्यनरत रहेका छन् ।

त्यसै गरि उच्च माध्यमिक तहमा अध्यनरत विद्यार्थीको अतिरिक्त क्रियाकलाप संचालन गर्न परिषद, हिसान र सौजन्य मिडियाको संयोजकत्वमा हाजिरीजवाफ प्रतियोगिता संचालन हुने भएको छ । भोली स्टेप बाई स्टेप उच्च माविमा हुने प्रतियोगिताबाट छनौट भएका दुई जनाले राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन पाउने हिसान कास्कीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए । बरालले प्रतियोगितामा सरकारी र निजी उच्च माध्यमिक तहका करिब २० विद्यालयका विद्यार्थीले भाग लिने जानकारी दिए ।

कमेन्टहरु
Loading...