एसएलसी फेल हुनेलाई हरिवंशदेखि बिल गेट्ससम्मको साथ !

२९ जेठ, काठमाडौं । सधैंका वर्षहरुमा जस्तै यसपालि पनि एसएलसीमा जाँच दिएकामध्ये आधाभन्दा धेरै विद्यार्थी फेल भए । परीक्षामा असफल भएपछि निराशा र चिन्ता हुनु स्वभाविक नै हो । फेल भएको पीडा सहन नसकेर कतिपयले आत्महत्या जस्तो कठोर निर्णय समेत गर्ने गर्छन् । तर, एसएलसीमा फेल हुनु नै जिन्दगीमा असफल हुनु होइन । घोडा चढ्ने मान्छे लड्छ भने झैं जाँच दिने मान्छे फेल हुन्छन् । यसरी पढाइमा असफल र फेल भएका मान्छे पढेकाभन्दा ‘सेलिबि्रटी’ भएका उदाहरण प्रशस्त छन्  ।

Haribansa-and-Bill-Gates

एसएलसीमा फेल भएर निराश भएकाहरुको मनोबल बढाउन सामाजिक सञ्जालमा यस्तै उदाहरणीय व्यक्तित्वहरु चर्चा हुन थालेको छ । कतिले नेपालकै चर्चित व्यक्तिहरुको प्रसंग जोडेका छन् भने कतिले विश्वकै धनी व्यक्ति र वैज्ञानिक सम्मलाई सम्झन पुगेका छन् । ’बोर्डफस्ट भएर बाबुराम हुनुभन्दा त फेल भएर हरिवंश हुनु नै जाति’ एसएलसी रिजल्ट भएलगत्तै सामाजिक सञ्जालमा सबैभन्दा बढी देखिने उद्गार हो यो । पूर्वप्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. भट्टराई ०२५ सालको एसएलसीमा ‘बोर्डफस्ट’ हुनुभएको थियो । पीएचडीसम्म पढेका उहाँलाई सबैले विद्वानको रुपमा मान्छन् ।

तर राजनीतिक रुपमा भने उहाँलाई मन नपराउनेको संख्या धेरै छ । अर्का पात्र वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य एसएलसीमा फेल हुनुभएको थियो । उहाँको पुस्तक ‘चिना हराएको मान्छे’ पढेपछि धेरैले यो कुरा थाहा पाए । एसएलसीमा फेल भएका आचार्य सामाजिक क्षेत्रमा भट्टराई भन्दा बढी लोकपि्रय हुनुहुन्छ । त्यसैले सामाजिक सञ्जालमा भट्टराई र आचार्यलाई तुलना गर्दै एसएलसीमा फेल हुनेहरुको मनोबल बढाउन खोजिएको हो ।

परीक्षामा असफल हुँदैमा निराश हुनु पर्दैन भन्ने अरु उदाहरण पनि छन् । सामाजिक सञ्जालमा पढ्न पाइने केही उदाहरण हेरौं :

-“I failed in some subjects in exam, but my friend passed in all. Now he is an engineer in Microsoft and I am the owner of Microsoft.” ― Bill Gates

– संसारमा सबैभन्दा धेरै आविष्कार गरेर नाम कमाउन सफल थोमस एल्भा एडिसनलाई १२ वर्षको उमेरमा स्कूलबाट निकाला गरिएको थियो ।

– अल्बर्ट आइन्स्टाइनलाई मन्दबुद्धिको केटो भनी स्कुलमा हेला गरिएको थियो । उनी कलेजको प्रवेश परिक्षामा असफल भएका थिए ।

– विलियम शेक्सपीयर कक्षा ५ मा दुई पटक फेल भएका थिए ।

– रविन्द्रनाथ ठाकुर म्याट्रिकुलेसन (SLC) मा सात पटक फेल भएका थिए ।

– महात्मा गान्धी म्याट्रिकुलेसनमा तेश्रो डिभिजनमा पास भएका थिए ।

– विन्स्टन चर्चिल कक्षा ६ मा फेल भएका थिए ।

– लियो टाल्सटाय कलेजबाट भागेका थिए ।

– ब्रुस लीले पनि पढाइलाई चटक्कै छोडेका थिए ।

– जोन डी रकेफेलर निरक्षर थिए ।

– म्याक्सिम गोर्की कहिल्यै विद्यालय गएनन् ।

– माइकल फराडे, विल गेट्स, स्टेफन स्पेल बर्ग, पिटर जेनिग्स, स्टिभ जब्स,हेरी एस ट्रुमन आदि कलेज नै गएका थिएनन् ।

– २०५ अमेरिकी अर्बपतीहरू कलेज नै नगएको तथ्याकं छ ।

फेल हुनेलाई जताततै अवसर

पास हुनेहरुलाई उच्चशिक्षा पढ्ने ठाउँ भएजस्तै एसएलसी असफल हुनेहरुका लागि पनि जिन्दगी बनाउने बाटो प्रशस्त छन् । ‘एसएलसी दिने उमेर भनेको कमाउने उमेर हो, कमाउनको लागि पास हुनैपर्छ भन्ने छैन’ शिक्षाविद डा. विद्यानाथ कोइरालाले अनलाइनखबरसित भन्नुभयो-’सकिन्छ एक वर्ष कुरेर जाँच दिने, हैन भने सीप सिकेर कमाउन थाल्ने ।’ दुई विषयसम्म मात्र अनुतीर्ण हुनेले आउँदो साउन २० गतेदेखि पुरक परीक्षा दिन पाउँछन् । पुरक परीक्षामा पास भएमा यही वर्ष कलेज पढ्न पाइन्छ । अर्थात अहिले फेल भएर पनि पुरकमा पास भएमा उच्च शिक्षा पढाईमा कुनै घाटा लाग्दैन । दुई विषयभन्दा बढीमा अनुतीर्ण हुनेहरुले भने अर्को वर्ष एसएलसी दिनुपर्छ । ‘एक वर्ष पर्खंदैमा भविष्य बिग्रिदैन’ कोइरालाले भन्नुभयो ।

पढ्न मन लागेन भने पनि केही छैन । ‘तरकारी खेती, पशुपालन लगायत व्यवसायिक कृषि पेशाको लागि एसएलसी पास गर्नै पदैन’ शिक्षाविद कोइरालाले भन्नुभयो-’व्यवसायिक कृषि पेशा अपनाएर धेरैले राम्रो आम्दानी गर्ने गरेका छन् ।’यस्तै मोवाईल मर्मत, कम्प्युटर मर्मत, रेडियो र टेलिभिजन मर्मत, मोटरसाइकल मर्मतको तालिमको लागि पनि एसएलसी पास गर्न पर्दैन । ‘अरुले गरेको हेरेर र तालिम लिएर धेरैले यस्ता सीपमूलक कामबाट आम्दानी गरेका छन्’ कोइरालाले भन्नुभयो-’अब पढाई मात्र ठूलो कुरा होइन, लगनशिलता र सृजनशिलता महत्वपूर्ण पक्ष हो, लगनशील हुने हो भने असफल मान्छे पनि जिन्दगीमा सफल हुन सक्छ ।’

– See more at: http://www.onlinekhabar.com/2013/06/81256/#sthash.IrLkSUJm.dpuf

कमेन्टहरु
Loading...