होटल संघको टोली खानेपानी र टेलिकममा, संस्थान र टेलिकम गैरजिम्मेवार भएको गुनासो

पोखरा, ७ माघ/खानेपानी र टेलिफोन जस्ता आधारभूत सुविधा प्रदानमा सम्वन्धित संस्था जवाफदेही नभएको भन्दै पश्चिमाञ्चल होटल संघ पोखराले आइतवार नेपाल खानेपानी संस्थान पोखरा र नेपाल टेलिकम पोखरालाई सचेत गराएको छ । पोखराका चार सय भन्दा बढी होटल मात्र नभई अन्य पर्यटन व्यवसाय र समग्र पोखरेली खानेपानी अभावको समस्याबाट आक्रान्त बनेको भन्दै संघको कार्यकारी समिति तत्काल पानी आपूर्ति सहज बनाउन माग गर्दै नेपाल खानेपानी संस्थान पुगेको थियो । संघको टोली यसअघि पनि फागुन तीन गते र मंसीर २७ गते संस्थानमा पानीको माग गर्दै पुगेको थियो ।
लोडसेडिङका कारण आक्रान्त बनेको पर्यटन व्यवसाय खानेपानी अभावले धरासायी हुने अवस्थामा पुगेको संघका प्रथम उपाध्यक्ष भरतराज पराजुलीले बताए । यस्तो गंभीर समस्या पर्दा समेत सम्वन्धित निकाय मौन रहनु निकै आपत्तीजनक विषय भएको उनको भनाई छ ।

विगतमा डेलिगेसन जाँदा नै एक दुई महिनामा समस्या समाधान हुन्छ भनेर आश्वासन दिइए पनि अहिले झन् त्यस्तो आश्वासनको अवधि बढाउँदै लगिनु निकै चिन्ताको विषय भएको उन भनाई छ । पोखराको विन्ध्यवासिनी ट्याङ्की बाट पस्र्याङ हुँदै लेकसाइड र ड्यामसाइड सम्म खानेपानीको नयाँ पाइप लाइन तत्काल निर्माण गरी तत्कालिन अवस्थामा विन्ध्यवासिनीमा २० इञ्चको पाइपमार्फत झरेको पानी वितरण गर्न व्यवसायीले माग गरेका थिए ।

तर पछिल्लो क्रममा सेतीमा आएको बाढीले मर्दी मुहानबाट आएको उक्त नयाँ आयोजनाको पाइपलाइन नै बगाएपछि सबै योजना भताभुंग भएको नेपाल खानेपानी संस्थान पोखराका इञ्जिनियर शैलेन्द्र्रकुमार शाहले जानकारी दिए । उक्त विग्रेको पाइप लाइन मर्मतका लागि टेण्डर आव्हान भइसकेको जानकारी दिंदै उनले सबै निवेदनहरु प्राप्त भएपछि तीन महिना भित्रमा २० इञ्चको पाइप लाइन मर्मत भएर पानी आपूर्ति सहज हुने आश्वसन दिए ।

यसैगरी संघको टोली आइतवार नै नेपाल टेलिकमको रानीपौवा कार्यालयमा पुगी ल्याण्डलाइन र मोवाइल फोन सेवामा भएका समसस्या तत्काल समाधान हुनुपर्ने माग राखेका छन् । बोल्दा बोल्दै मोवाइल फोन काटिने, आवाज नसुनिने, ल्याण्डलाइन फोन कहिलेकाही कामै नगर्ने अवस्थामा पुग्ने र कतिपय ठाउँमा फोन नै नलाग्ने समस्या तत्काल समाधान हुनुपर्ने माग संघको टोलीले राखेको थियो ।

यसैगरी बैदाम क्षेत्रमा टेलिफोन नम्वर परिवर्तन भई अगाडि पाँचको सट्टा चार डायल गर्नुपर्ने व्यवस्था निकै अगाडि भएको भए पनि नेपाल टेलिकमको इन्क्वायरी (१९७) ले पुरानै नम्वर दिने गर्दा व्यवसायमा नै समस्या परेको मात्र नभई अन्तर्राष्ट्रिय जगतमा देशकै बेइजत भएको व्यवसायीले बताए ।

टेलिकम पोखराका प्रमुख प्रकाशमान प्रधानले लोडसेडिङका कारण वीटीएस टावरले बत्ती नपाउँदा मोवाइलमा समस्या परेको र व्याट्रिको व्याकअपले छ घण्टा भन्दा नधान्ने जानकारी दिए । घरधनीले घरमा धेरै व्याट्री राख्न पनि नदिने र सबै ठाउँमा जेनेरेटर राख्न पनि समस्या भएको उनको भनाई थियो । बैदामका पुराना नम्वर इन्क्वायरीमा छिटै अद्यावधिक गरिने आश्वसन पनि उनले दिए ।

कमेन्टहरु
Loading...