भरतपोखरीमा घरेलुहिंसा सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न

पोखरा, ३० मंसिर/ यूएसआईपीको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको आयोजनामा घरेलुहिंसाः महिलाहरुको सुरक्षा तथा न्यायमा पहुँच विषयक अन्तरक्रिया कार्यक्रम भरतपोखरी गाविसमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरुले पहुँचवालाले मात्र न्याय र सुरक्षामा पाउन सकेको भन्दै घरेलुहिंसा पीडित महिला र सर्वसाधारणले न्याय र सुरक्षाको प्रत्याभूति पाउन नसकेको गुनासो गरे । उनीहरुले महिलाहिंसा न्यूनीकरणको लागि सचेतनाको खाँचो रहेको औल्याउदै त्यसप्रति सरोकारवाला निकायको महत्वपूर्ण भूमिका हुने बताए । कार्यक्रममा अधिवक्ता सरलाकुमारी पाण्डेले घरेलुहिंसाः महिलाहरुको सुरक्षा तथा न्यायमा पहुँच विषयमा सहजीकरण गर्दै पितृसत्तात्मक सँस्कार, प्रभावकारी कानुनको अभाव र पहुँच नहुनाले महिलाहरु घरेलुहिंसाबाट पीडित हुने गरेको बताईन् । उनले दाइजो प्रथा, बहुविवाह जस्ता कारणले बढी मात्रामा महिलाहरु हिंसापीडित हुने गरेकाले परिवार र समाजबाटै महिलाहिंसा न्यूनीकरण हुनु पर्नेमा जोड दिईन् ।

कार्यक्रमका भरतपोखरी गाविस सचिव गंगादत्त पौडेलले लैङ्गिक समानता, परम्परागत सोचाईलाई सुधार गर्न सकेमा मात्र घरेलुहिंसा न्यूनीकरण हुने बताए । उनले समयानुकूल कानुन परिमार्जन गरी प्रभावकारी कार्यान्वयन गर्नु पर्नेमा जोड दिए । युएसआईपीका परियोजना अधिकृत गोविन्द रिजालले महिला हिंसापीडित महिलालाई न्याय दिलाउनको लागि स्थानीय निकाय र प्रहरीले संवेदनशील भएर काम गर्नु पर्नेमा जोड दिए ।

डाँडाकोनाक प्रहरी चौकीका प्रहरी नायव निरीक्षक मोहनबहादुर रानाले भौतिक र गुणस्तरीय विकासको अभावमा पनि प्रहरीले पीडितको न्यायको लागि सुरक्षा निकायले निष्पक्ष ढंगले काम गरिरहेको बताए । उनले अपराधिक घटना नियन्त्रणको लागि भरतपोखरी गाविसमा प्रहरीचौकी स्थापना गर्नु पर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेल, महिला मानवअधिकार रक्षक सञ्जालकी सदस्य चमेली परियार, स्थानीय शान्ति समिति भरतपोखरीका संयोजक तथा एनेकपा माओवादीका इन्चार्ज जीवन खाती, नेपाली काँग्रेसका केशरप्रसाद निर्दोषी, शिक्षक टीकाराम अधिकारी, राप्रपाका अध्यक्ष सोमबहादुर गुरुङ, कमला परियार, चन्द्रकान्त अर्याल लगायतले मुलुकमा महिलाहिंसाको घटना बढ्दै गएको भन्दै पीडितलाई न्याय र पीडकलाई कारबाहीको लागि सरोकारवाला निकायले पहल गर्नु पर्नेमा जोड दिए ।

कमेन्टहरु
Loading...