प्रेस चौतारी पत्रकारिता पुरस्कार बाँस्तोलालाई

पोखरा, १० माघ/प्रेस चौतारी कास्कीले प्रत्येक बर्ष प्रदान गर्दै आएको प्रेस चौतारी पत्रकारिता पुरस्कार २०६८ पत्रकार हरि बाँस्तोलालाई प्रदान गरिने भएको छ । पत्रकार बाँस्तोलाई पुरस्कार प्रदान गर्न प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रतिभा छनोट समितिले गरेको सिफारिसलाई प्रेस चौतारी कास्कीको बुधबार बसेको बैठकले अनुमोदन गरेको सचिव माधव बरालले जानकारी दिनुभयो । प्रतिभा छनोट समितिको संयोजकमा प्रेस चातारी कास्कीका संस्थापक अध्यक्ष पुण्य पौडेल रहनुभएको थियो भने सदस्यमा केन्द्रिय सदस्य शान्ति गुरुङ, पुर्व सचिव प्रेम नारायण न्यौपाने, पदेन सदस्यमा प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कँुवर र सचिव  माधव बराल रहनु भएको थियो ।

पत्रकारिताको माध्यमबाट प्रेस तथा लोकतान्त्रिक आन्दोलनका साथै प्रेस चौतारीको संस्थागत विकासमा पु¥याएको योगदानको कदरगर्दै बाँस्तोलाई पुरस्कार प्रदान गर्न लागिएको हो । २०५१ सालदेखि पत्रकारितामा क्रियाशिल बाँस्तोला राष्ट्रिय समाचार समिति क्षेत्रीय कार्यालय पोखरामा कार्यरत  हुनुहुन्छ । राससले २०६१ सालमा उत्कृष्ट आलेख समाचार लेखेको भन्दै बाँस्तोलालाई सम्मान गरेको थियो । उहाँले नेपाल टेलिभजिन पनि पाँच बर्ष काम गर्नु भएको थियो । कास्कीको माझठाना गाविसस्थित बाँस्तोला गाउँमा २०२१ सालमा जन्मनु भएका बाँस्तोला प्रेस चौतारी कास्कीको संस्थापक सदस्य र पुर्व अध्यक्ष हुनुहुन्छ भने उहाँकै कार्यकालमा प्रेस चौतारी पत्रकारिता पुरस्कार स्थापना गरिएको थियो । बाँस्तोला हाल पोखरा १७ घारीयापाटनमा बस्दै आउनु भएको छ ।

पुरस्कारको राशी ११ हजार १ सय ११ नगदसहित दोसल्ला र सम्मान पत्र रहेको छ । यसअघि उक्त पुरस्कारबाट माधव शर्मा, पुण्य पौडेल, नवराज सुवेदी र रुद्रबहादुर थापा सम्मानित भइसक्नु भएको छ । प्रेस चौतारी कास्कीले  यसबर्ष पुरस्कार राशीमा वृद्धि गरेको हो भने यसअघि पुरस्कार राशी ५ हजार १ रुपैयाँ थियो । पुरस्कार निकट भविश्यमा एक कार्यक्रमको आयोजना गरी बाँस्तोलालाई प्रदान गरिनेछ ।

प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवरको अध्यक्षतामा बसेको बैठकले पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई उन्मुक्ति दिने गरी प्रधानमन्त्री  र महान्यायधिवक्ताबाट भएको प्रेस स्वतन्त्रता विरोध हस्तक्षेपप्रति खेदव्यक्त गर्दै थापासहित पत्रकारहरुका हत्यारालाई कारबाही गर्न माग समेत गरेको छ ।

कमेन्टहरु
Loading...