हेलिकोप्टर दुर्घटना हुदाँ–मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको निधन

काठमाण्डौं, १५ फागुन /ताप्लेजुङमा दुर्घटना हुदाँ पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको निधन भएको छ । फुङलिङ नगरपालिका १०, काफ्लेपाटीमा भएको दुर्घटनास्थलमा ७ जनाको शव फेला परेको हेली सोसाइटी अफ नेपालका एक प्रतिनिधिले पुष्टि गरेका हुन् ।

फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई ’तारा’ले पनि ७ जनाकै शव फेला परेको पुष्टि गरे । ’दुर्घटना भएको जानकारी मिल्नासाथ हामी सो स्थानतर्फ जाँदैछौं’, उपप्रमुख भट्टराईले भने, ’दुर्घटना स्थलमा पुगेका स्थानीयले ७ जनाको शव भेटिएको पुष्टि गरेका छन् ।’

उनका अनुसार दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपािलकाको सीमा क्षेत्रमा पर्छ । उनले भने, ’सो क्षेत्र प्रशिद्ध तिर्थस्थल पाथीभराको नजिक रहेको छ ।’

अहिले घटनास्थलतर्फ जिल्लास्थित सरकारी अधिकारी तथा प्रहरीसहितको उद्दार टोली पुग्दै गरेको उनले बताए । ’हाल ताप्लेजुङमा कुहिरो लागिरहेको र पानी पनि परिरहेको छ’, भट्टराईले भने ।

ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाको विमानस्थल कार्यालयलेसमेत पुष्टि गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना सवार हेलिकोप्टरमा सवार थिए ।

कलसाइन एएमआई (अल्फा माइक इन्डिया) उक्त हेलिकोप्टर काठमाडौंबाट आज बिहान साढे ८ बजे उडेको थियो । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो ।

मन्त्रीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन गुरुङ लगायत थिए । हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए ।

कमेन्टहरु
Loading...