पोखराका सबै फुटपाथ पसल हटाइए, फुटपाथ व्यवसायी दुवै माओवादीको विरोध

पोखरा, ६ फागुन/मध्य रातमा सयौ सुरक्षाकर्मी परिचालन गरेर पोखराको व्यस्त बजारका एक हजार दुई सय ५० फुटपाथ पसलहरु हटाइएको छ । प्रमुख सत्तारुढ घटक एमाओवादी र नेकपा माओवादीले विरोध गर्दा गर्दै प्रहरी प्रशासनले फुटपाथ व्यवसाय हटाए पछि दुवै पार्टी रुष्ट बनेका छन् । पोखरा उपमहानगरपालिकाले पटक–पटक फुटपाथ हटाउने निर्णय गरेपनि कार्यान्यन गर्न नसकेपछि कास्कीमा रहेका सुरक्षा निकायको अगुवाईमा फुटपाथ हटाइएको हो । शनिबार राती १० बजेदेखि नेपाल प्रहरी र शसस्त्र प्रहरीले फुटपाथ हटाएका थिए । पोखराका मुुख्यचोकहरु पृथ्वीचोक, सभागृहचोक, चिप्लेढुगा, महेन्द्रपुलमा रहेका फुटपाथ आइतबार देखि खाली भएको छ । फुटपाथमा ब्यापार संचालनका लागी बनाएका अस्थायी टहरा प्रहरीले राती राती तिन बजेसम्म लगाएर भत्काएको हो । सडकमा सामान राख्न राखिएका फलामका खाट, ठेला, लगायतका सामाग्री पनि प्रहरीले ट्रकमा राखेर लगेको छ ।

यसको विरोधमा विहानै देखि सडकमा उत्रिएका फुटपाथ व्यवसायीले चक्का जाम गर्ने प्रयास गरेपछि प्रहरीले दिएन । विहानै देखि सयौंको संख्यामा सडकमा उत्रिएका प्रहरीले अबरोध गर्न खोज्ने ५० जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका २१ महिला र २९ पुरुष प्रहरी हिरासतमा छन् । बाटो बन्द गर्ने प्रयास असफल भए पछि व्यवसायीले प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले व्यवस्थापन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

फुटपाथ व्यवसायीको पक्षमा आन्दोलनको अगुवाई गर्न एकिकृत नेकपा माओवादी र नेकपा–माओवादीको होड चलेको छ । दुवै पार्टीका जिल्ला स्तरीय नेताहरु सडकमा आएर व्यवसायीलाई आफ्नो पक्षमा तान्न लागि परेका छन् । गत माघ २६ गते फुटपाथ हटाउने तयारी प्रशासनले गरेको भएपनि प्रधानमन्त्री डा बाबुराम भटराईको निर्देशनमा मुख्य सचिव लिलामणि पौडेलले फुटपाथ हटाउने कार्य रोक्न आदेश दिएका थिए ।

एमाओवादी र माओवादीकै धम्कीका कारण पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी तत्काल नहटाउने पक्षमा थिए । कार्यकारी अधिकृतलाई फुटपथ हटाएमा सरुवा गर्ने धम्की दिइएको थियो । पोखरा उद्योग बाणिज्य संघले फुटपाट हटाउने कार्यको अगुवाइ र स्वागत गरेको छ ।

आइतबार विहान संघमा सम्पन्न भेलाले फुटपाथ व्यवसायीको आन्दोलनको प्रतिकार गर्न समेत व्यवसायीलाई निर्देशन दिएको छ । हटाइएको विरोधमा फुटपाथ व्यवसायीले सडक बन्द गराउदै हिडेका थिए । संघको निर्देशन पछि व्यवसायीले प्रतिकार गरेर पसल खोलेका छन् । दुबै माओवादी पार्टीले फुटपाथ व्यवसायीलाई साथ दिने र अन्य पार्टी तथा उद्योग बाणिज्य संघले प्रहरी प्रशासनलाई साथ दिए पछि पोखरामा जतिबेला झडप हुने त्रास बढेको छ ।

कमेन्टहरु
Loading...