थ्रीस्टार क्लबलाई फेरि ५ अंकको अग्रता

६ चैत, काठमाडौं । सहिद स्मारक ए डिभिजन सुपर लिग फुटबलमा थ्रीस्टार क्लबले आफ्नो चिरप्रतिद्वन्दी मनाङ मर्स्याङदी क्लबलाई बराबरीमा रोकेको छ । एनआरटीविरुद्धको खेलमा रातो कार्ड पाएका आफ्ना मूख्य डिफेण्डर सन्दिप राईलार्इ गुमाएको थ्रीस्टार क्लबले मनाङलाई १-१ गोलको बराबरीमा रोक्दै स्पष्ट पाँच अंकको अग्रतालाई कायमै राखेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलवार भएको खेलमा खेलको १५ औँ मिनेटमा गोल गर्दै कप्तान सन्तोष साहुखलले थ्रीस्टारलाई अग्रता दिलाए । तर थ्री स्टारको अग्रता १० मिनेट पनि टिक्न सकेन । खेलको २३ औँ मिनेटमा मनाङका सर्जियो सिकोले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याए । दुवै टोलीले गोल गर्ने केही राम्रा मौका पाएपनि सदुपयोग गर्न सकेनन् ।

बरावरीपछि मनाङको उपाधि होडको यात्रामा भने केही धक्का लागेको छ । थ्रीस्टारको १९ खेलवाट ३९ अंक भएको छ भने लिग तालिकाको दोस्रो स्थानमा रहेको मनाङको समान खेलवाट ३४ अंक भएको छ । यसअघि पहिलो चरणको खेलमा थ्रीस्टारले मनाङलाई १-० ले पराजित गरेको थियो । cp. onlinekhabar.com

 

कमेन्टहरु
Loading...