लेकसाइड सेभेन ए साइड कपमा ए डिभिजनका खेलाडीहरु

नेपालकै चर्चित ए डिभिजन क्लव मनाङ्ग मस्र्याङ्गदीका खम्बा भनेर चिनिएका क्यामरुनी खेलाडी जम्बो पोखरा आउने भएका छन् । लेकसाइडमा जारी सेभेन ए साइड फुटवल प्रतियोगितामा भाग लिनका लागि उनी पोखरा आउन लागेका हुन । जम्बो प्रतियोगिताको आयोजक लेकसाइड क्लवको निलो टोलीबाट मैदान उत्रने छन् ।

उनी विहिबार हवाइमार्ग हुँदै पोखरा आउने छन् । भलै जम्बोलाई जहाज चढाएर पोखरा ल्याइएपनि उनले लेकसाइड क्लवबाट खेल्नका लागि भने कुनै म्याच फि लिने छैनन् । चिनजान र आपसि सम्वन्धकै हिसाबले उनी सो क्लवबाट खेल्न मन्जुर भएका हुन । तर उनलाई पोखरामा आवास तथा खानाको व्यवस्था भने लेकसाइड क्लवलेनै गर्ने छ । अब जम्बो संगै आयोजकको निलो टिमबाट मैदान उत्रने अफ्रिकन खेलाडीको संख्या दुई पुग्ने भएको छ । यसअघि क्लवले नाइजेरियन खेलाडी डोगोज लियोन्सपनि आफ्नों टिमबाट मैदानमा उतारिसकेको छ ।

लेकसाइडमा जारी सेभेन ए साइड फुटवल प्रतियोगितामा भाग लिन जम्बो र लियोन्स मात्रै होइन, अन्य ए डिभिजनका खेलाडीहरुपनि पोखरा आएका छन् । अक्सिजन लन्च एण्ड बार रेष्टुरेष्टले आरसीटिका भिम दर्लामी, आरसीटिकै दिपक थापा, एन्फा यु–१६ का अनिल गुरुङ्ग र क्रषि थापामगरलाई आफ्नों टिमबाट मैदान उतारेको छ । एलजी एशोसियसबाट मैदान उत्रिएका सुसिल केसी हाल एनआरटीमा आवद्ध छन् ।

बुधबार सहारा क्लवविरुद्धको खेलमा दिप युनाईटेडले हिमालयन शेर्पाका गणेश खड्का, कुञ्जन गुरुङ्ग, एनआरटीका सुवास गुरुङ्ग तथा आरसीटिका कृष्ण कुँवर मैदान उता¥यो । तर बौद्धको सेटनै ल्याएको सहाराले दिप युनाईटेडलाई २–१ गोलले पाखा लगाएको थियो । यद्यपी सहाराबाट मैदान उत्रिएका खेलाडीहरुभने सहारा एकेडेमीकै उत्पादन हुन ।

ए डिभिजक क्लवका खेलाडीहरु यतिबेला प्रशिक्षणमा व्यस्थ रहेका छन् । अत्याधिक पुरस्कार राशिको एनसेल कप र राष्ट्रिय लिगका लागि खेलाडीहरु अहिले तयारी अवस्थामा रहेका छन् । पोखरा लेकसाइड घर भएका राष्ट्रिय खेलाडी अनिल ओझा भने आफ्नै आँगनमा प्रतियोगिता भै रहँदा पनि यहाँ आउन पाएनन् । विहान र बेलुकी दुवै समय प्रशिक्षण गर्नुपर्ने भएकाले उनी यहाँ आउन नपाएको उनका पिता ओम ओझोले बताए ।

यहाँ आएका डिभिजनका अन्य खेलाडीहरुलाई पनि प्रशिक्षण गर्नुपर्ने भएपनि उनीहरु विभिन्न बहानावाजी गरेर पोखरा आएको बताइन्छ । क्लवहरुले अधिकांस खेलाडीहरुलाई आउने जाने भाडा, तथा आवास र खानाको व्यवस्था मात्रै मिलाएका छन् । यत्तिको भरमा पनि खेलाडीहरु पोखरा आउन लालायित देखिन्छन् । आयोजक क्लवका कोषाध्यक्ष कमल भुजेल यसलाई खेलाडीहरुको पोखराप्रतिको मोह मान्छन् ।

लेकसाइड क्लवबाट दुई विदेशी खेलाडी पोखरा ल्याउन सिप एण्ड बाइट क्याफे संचालक रामजी अधिकारीले भुमिंका निर्वाह गरेका हुन् । खेलाडीहरुसंग उनको सम्वन्धकै कारण उनले राम्रा राम्रा खेलाडीहरु पोखरा ल्याउने गर्दछन् । यसअघिपनि विटिकपको उपाधी विजेता लेकसाइडले भरत खवास, नवयुग श्रेष्ठ, जितेन्द्र कार्की र बादल घिसिङ्गलाई मैदान उतारेको थियो । चारजना खेलाडीलाई पोखरा ल्याउदा क्लवले झण्डै ५० हजार खर्चिएको कोषाध्यक्ष भुजेल बताउँछन् ।

त्यस्तै, भ्यालि स्पोर्ट क्लवले अक्सर राजकुमार घिसिङ्गलाई पोखरा ल्याइरहने गर्दछ । पोखरामा भएका स्थानिय स्तरका प्रतियोगिताहरुमा भाग लिएको कुरा सम्वन्धित क्लवहरुले थाहा पाइहाले कारवाही होला भन्ने डरले अधिकांस खेलाडीहरु नाम परिवर्तन गरेर मैदान उत्रने गर्दछन् ।

कमेन्टहरु
Loading...