कास्की जिल्लामा ‘फिसिङ स्पट’को तयारी

पोखरा, १ पुस/लोपोन्मुख असला माछाको संरक्षण गर्ने उद्देश्यले कास्की जिल्लामा ‘फिसिङ स्पट’को तयारी तीव्र पारिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गतको मरुवा पुलबाट मर्दीवाङ बराहथानसम्म असला माछाका लागि ‘फिसिङ स्पट’ बनाउन लागिएको हो । कास्की जिल्ला ल्वाङघलेल गाविस वडा नं. ७, कुइवाङबासीले लोप हुँदै गएको असला माछाको संरक्षण गरी ‘फिसिङ स्पट’ बनाउने तयारी तदारुकताका साथ अगाडि बढाएका छन् ।फिसिङ स्पट बनाउनका लागि अमृत गुरुङको अध्यक्षतामा नौ सदस्यीय समिति समेत सोमबार सम्पन्न भेलाले निर्माण गरेको छ । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरका अध्यक्ष नारायणप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका वरिष्ठ रेन्जर लेखनाथ गौतमले गर्नुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष अमृत गुरुङले कार्यक्रममा सहयोगका साथ उपस्थित भइ आगामी दिनहरूमा उहाँहरूलगायत कार्यालयको तर्फबाट सहयोगको अपेक्षा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो । लोपोन्मुख असला माछाको संरक्षणमा सम्पूर्ण वडाबासी वरपरका छरछिमेक, गाविसबासीहरूलाई सहयोगका लागि अनुरोध गर्दै आगामी दिनहरूमा फिसिङ स्पटमा फिसिङ गर्न आउनुहुन समेत आग्रह गर्दै कार्यक्रम समापन गरिएको थियो ।

अमृत गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संरक्षण समितिका सचिव सुकबहादुर तामाङले स्वागत गर्नुभएको थियो भने पूर्णबहादुर गुरुङले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...