फेवा महोत्सवको तयारी पुरा

पोखरा, २८ चैत/भोली देखि आगामी वैशाख २ गतेसम्म पोखराको वसुन्धरा पार्कमा आयोजना हुने दशौं फेवा नव वर्ष महोत्सव २०७० को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक पश्चिमाञ्चल होटल संघ महोत्सव स्थलमा पत्रकार सम्मलेन गरि तयारी पुरा भएको जानकारी दिएको हो । महोत्सवमा रहने स्टलमा देशविदेशका खानाहरु प्रदर्शन र विक्रीका लागि उपलब्ध हुने महोत्सवका संयोजक विकल तुलाचनले जानकारी दिए । यसैगरी विहान ११ वजे लेकसाइड स्थिल खहरेचोकबाट सांस्कृति झाँकी सुरु भई वसुन्धरा पार्कमा पुगी महोत्सव उद्घाटन हुने संघले जानकारी दिएको छ । नयाँ वर्ष इभ अर्थात चैत ३१ गते आतासवाजीको कार्यक्रम समेत रहेको संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जानकारी दिए । फेवा ताल संरक्षणको पाटोलाई महोत्सवले महत्वका साथ समेटेको जानकारी दिंदै अध्यक्ष शर्माले संघले दुई वटा डुंगा व्यवस्था गरी विगत वर्षहरुबाटै फेवा ताल सफाईको काम दैनिक निरन्तर गर्दै आएको स्मरण गराए ।

महोत्सवमा पर्यटकीय सम्पदाको संरक्षण र बजारिकरण महत्वपूर्ण पक्ष भएको बताउँदै त्यस्तो विषय वस्तुलाई समेत महोत्सवले समेटेको आयोजकको दावी छ । फेवा ताल नभए पोखराको पर्यटन अगाडि बढ्न नसक्ने बताउँदै गैह्रेले तालको पानी स्वच्छ राख्नेतर्फ सबैको चासो हुनुपर्ने बताए ।  आन्तरिक पर्यटन प्रवद्र्धनका लागि संघले आयोजना गर्न लागेको महोत्सवमा आन्तरिक पाहुनालाई लक्षित गरी आवासमा ३० प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्षलाई धुमधामका साथ मनाउने गरिएको छ ।

नेपाली नयाँ वर्षलाई पनि उत्तिकै महत्वका साथ प्रचार–प्रसार गरी आफ्नो मौलिक संस्कृति, रहनसहन तथा भेषभुषाको संरक्षण गर्ने उद्धेश्यका साथ दशौं फेवा नव वर्ष महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सव प्रवेश टिकटबाट निश्चित रकम फेवातालको संरक्षणका लागि छुट्याइएको छ ।

महोत्सवमा “पर्यटन, खाना र संस्कृति” मुख्य आकर्षण रहने छन् । महोत्सवमा १५ वटा खानाका स्टल र ४५ वटा अन्य विभिन्न खालका पर्यटन, कृषि, संस्कृति एवं व्यापारिक स्टलहरु रहने छन् । महोत्सवबाट अनुमानित ४१ लाख ५० हजार रुपैयाँ आम्दानी र ३९ लाख १५ हजार रुपैयाँ खर्च भई २ लाख ३५ हजार रुपैयाँ वचत हुने अनुमान संघले गरेको संघका महासचिव लक्ष्मण सुवेदीले जानकारी दिए ।

कमेन्टहरु
Loading...