आयोगद्वारा इयूको निर्वाचन पर्यवेक्षण प्रतिवेदन अस्वीकार, इयूको प्रतिवेदनप्रति काउन्सिलको पनि आपत्ति

काठमाडौं, ८ चैत/ निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पर्यवेक्षण बारे युरोपेली संघ इयूद्वारा जारी प्रतिवेदन अस्वीकार गरेको छ । इयूको प्रतिवेदन र सो सम्बन्धमा उक्त संस्थाले जारी गरेको प्रेस विज्ञप्ति भ्रामक, तथ्यहीन र अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण आचारसंहिता विपरीत समेत देखिएकाले उल्लिखित निर्वाचन पर्यवेक्षण प्रतिवेदन आयोगलाई पूर्णतः अस्वीकार्य रहेको आयोगद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इयूबाट पेस भएको निर्वाचन पर्यवेक्षण प्रतिवेदन आयोगसँग गत कात्तिक ७ गते भएको समझदारीपत्र र सो समझदारीपत्रका साथ संलग्न निर्वाचन पर्यवेक्षण आचारसंहिताका १२ बुँदाको गम्भीर उल्लंघन गरी तयार गरिएको आयोगको भनाइ छ ।पर्यवेक्षणको सीमा बाहिर गइ पर्यवेक्षण गर्ने र प्रतिवेदन गर्ने सम्बन्धमा आयोगले आगामी दिनमा निर्वाचन पर्यवेक्षण गर्ने संस्थालाई अनुमति प्रदान गर्दा अझ गम्भीर हुने जनाइएको छ ।

यसैगरी, हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन पर्यवेक्षण बारे युरोपेली युनियन इयूद्वारा जारी प्रतिवेदन प्रति प्रेस काउन्सिल नेपालले पनि आपत्ति जनाएको छ । काउन्सिलको गठन विधि, कार्यक्षेत्र, भूमिका र प्रभाव क्षेत्रको वस्तुगत विश्लेषण र तथ्य परक जानकारी नै नराखी एकदमै सतही रुपमा टिप्पणी गरेको भन्दै काउन्सिलले दुःख व्यक्त गरेको छ ।

काउन्सिल कै सन्दर्भमा कतिपय गलत, भ्रामक र आधारहीन किटानी गरिएको तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै वर्ग, तह–तप्काका जनसमुदायको भर्खर सम्पन्न आमनिर्वाचनमा उत्साहजनक सहभागिता रहेको परिप्रेक्ष्यमा युरोपियन युनियनको प्रतिवेदनले आफैंमा विश्वसनीयताको संकट पैदा गरेको काउन्सिलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कमेन्टहरु
Loading...