भदौ ४ बाट इम्बोस्ड नम्बर

काठमाडौँ, १ भाद्र /यातायात व्यवस्था विभागले भदौ ४ गतेबाट सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट वितरण गर्ने भएको छ । विभागले एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री शेरबहादुर देउवाबाट इम्बोस्ड नम्बर प्लेट वितरण गरिने कार्यक्रम तय गरेको आजको गोर्खापत्र दैनिकमा खबर छ । वितरण कार्यक्रमको उद्घानपछि पहिला सरकारी सवारी साधनबाट इम्बोस्ड नम्बर लागू गरिने विभागले जनाएको छ ।

इम्बोस्ड नम्बर वितरणको सम्पूर्ण तयारी पूरा भएको विभागका प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिनुभयो । यातायात व्यवस्था विभागको कार्यालय मीनभवनबाट नम्बर प्लेट वितरण गरिने भएको छ । विभागका अनुसार यो नम्बर प्लेट कम्युटर प्रविधि सहितको सुुरक्षा प्रविधि हो । सवारीसाधनलाई जीपीएस प्रणालीमा जडान गरी सवारीधनी लगायतका महत्वपूर्ण जानकारी एकैठाउँमा डिजिटल प्रविधिमा राखिने प्रवक्ता डा. पाण्डेले बताउनुभयो । सवारीको स्थानको पनि जानकारी हुनेछ ।

इम्बोस्ड नम्बर लागू भएपछि सेन्सर जडान गरी मेसिनले ‘रिड’गरेपछि विवरण प्राप्त गर्न सकिने छ । यो नम्बर लागू भएपछि चोरी डकैती, कर छली जस्ता कार्य नियन्त्रण हुन्छ, डाटामा एकद्वार प्रणाली हुनुका साथै सवारीसाधन पनि सुरक्षित हुने विभागले जनाएको छ । सरकारी गाडीबाट सुरु गरिने इम्बोस्ड नम्बर प्लेट आगामी पाँच वर्षभित्र सबै सवारीसाधनमा राखिसक्ने बताइएको छ । इम्बोस्ड नम्बर प्लेट लागू गरिएपछि सवारी दुर्घटनाका बारेमा पनि जानकारी प्राप्त हुनेछ ।

 

कमेन्टहरु
Loading...