डाक्टर गोविन्द केसीको अनसन स्थगित

काठमाडौं,  ३१साउन/ २३ दिनदेखि अनसन बसिरहेका डाक्टर गोविन्द केसीले अनसन स्थगित गरेका छन् । विभिन्न ठाउँमा बाढी पहिरो र डुबानका कारण राहत र उद्धारमा खटिनुपर्ने भएकाले त्यसमा सहयोग गर्न भन्दै डाक्टर केसीले अनसन स्थगित गरेका हुन् ।

अनसन बसिरेहेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज सांझ​ पत्रकार सम्मेलन गरि डाक्टर केसीले बाढीपहिरोका कारण केही दिनका लागि अनसन स्थगित गर्नु परेको तर आफ्ना माग पूरा नभए बाढीपहिरो पछिको अवस्था सामान्य हुनासाथ फेरि अनसन बस्ने बताएका छन् । आफूले राखेका मागमा सरकार गम्भीर हुनुको साटो चलखेल गरेर उम्किन खोजेको भन्दै तत्कालका लागि अनसन स्थागित भएको डा.केसीका प्रतिनिधि अभिषेक सिंहले बताए ।

डाक्टर केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै ११ औ पटक अनसन बसेको आज २३ औ दिन हो । स्वास्थ्य अवस्था कमजोर भएर आइसियुमा उपचार गराउनुपर्ने अवस्था आएपनि डाक्टर केसीले त्यसलाई अस्वीकार गर्दै आएका थिए । छातीको दुखाइ बढेपछि उपचारमा संलग्न चिकित्सकले आइसियूमा लैजाने तयारी गरे पनि डाक्टर केसी नमान्दा जोखिम बढेको थियो । सरकारी वार्ता समितिले चिकित्सा शिक्षा ऐन मात्र नभई अन्य विषयमा समेत छलफल प्रयास नगरेपछि बाध्य भएर अनसन स्थगित गर्नुपरेको उनले बताए। सरकारले माथेमा कार्यदलको सुझाव अनुसार चिकित्सा शिक्षा विधेयक संसदीय समितिबाट पारित गरेर संसदमा पेश गर्ने तयारी गरेको थियो ।

कमेन्टहरु
Loading...