डा केसीको समर्थनमा पोखरामा नागरिक समाज 

पोखरा, २७ साउन/नागरिक समाज पोखराले डा गोविन्द केसीको ११ औं पटकको सत्याग्रहलाई समर्थन गर्दै ऐक्यवद्धता जनाएको छ ।  समाजका संयोजक रामबहादुर पौडेलको अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले १९ औं दिन सम्म डा केसीको सत्याग्रहलाई सरकारले वेवास्ता गरेको भन्दै विभिन्न कार्यक्रमहरु सावर्जनिक गरेको छ ।

मेडिकल क्षेत्रमा व्याप्त विकृति विसंगतीलाई चिर्न पटक पटक सत्याग्रह गर्दा समेत हालसम्मका कुनै पनि सरकारले वास्ता नगरेकोले ११ औं पटक आमरण अनसनमा रहेका डा केसीको स्वास्थ अवस्था गंभीर रहेकोमा नागरीक समाज पोखराको ध्यानाकर्षण भएको छ । डा केसीको माग अविलम्व पुरा गर्दै जीवन रक्षार्थ सरकारलाई दवाब दिने हेतुले हस्ताक्षर संकलन तथा रिले अनसन समेतका कार्यक्रम सावर्जनिक गरेको नागरिक समाजका अगुवा विष्णुहरी अधिकारीले जानकारी दिए ।

कार्यक्रम अनुसार साउन २८ गते शनिबार विहान ७ः३० बजे वडा नं ३२ राजाको चौतारामा आयोजना हुने ६३ औं हप्ताको पोखरा उपत्यका बृहत सफाई अभियान लगत्तै हस्ताक्षर संकलन गर्ने र उक्त कार्यक्रम पश्चात सोहिदिन १२ बजे देखि मानवअधिकार चोक, चिप्लेढुंगामा हस्ताक्षर संकलन कार्यक्रमलाई निरन्तरता दिने जानकारी नागरिक अगुवा सह संयोजक राममोहन आचार्यले बताए ।

आचार्यका अनुसार आईतबार बिहान ७ः३० बजे मानवअधिकार चोक चिप्लेढुगामा ऐक्यबद्धता कार्यक्रम, अपरान्ह ३ बजे कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र सहित संकलित हस्ताक्षर बुझाउने कार्यक्रम रहेको छ । त्यसैगरी साउन ३० गते सोमबार बिहान ११ बजे देखि रिले अनसन गर्ने निर्णय गदै सम्पूर्ण पोख्रली समुदायलाई समेत आवश्यक समर्थनका लागि नागरिक समाज पोखराले अनुरोध गरेको छ ।

कमेन्टहरु
Loading...