ओछ्यानमै पुगेर कुकुरले अभियुक्त समातेपछि…….

काठमाडौ, २४ पुस /कुनै दम्पतीका चार सन्तानमध्ये एकजनाले भान्सामा राखेको स्याउ चोरेर खाएमा उसले नभनेसम्म त्यो कुरा पत्ता लगाउन सकिँदैन भने महानगरको एक निर्जन स्थानमा रातको समयमा संगठित र सुनियोजित तरिकाले गरिएको अपराध पत्ता लगाउन कति सहज होला । महानगरीय प्रहरी अपराध महाशाखाको वेबसाइटमा यस्तो लेखिएको छ।

तर नेपाल प्रहरीकै रोनी नामको कुकुरले अपराधीलाई ओछ्यानमै पुगेर समातिदिएको खबर आजको अन्नपूर्णमा छापिएको छ। नेपाल प्रहरीको तालिमप्राप्त रोनी काठमाडौं मातातीर्थका ६० वर्षीय सानुकाजी तामाङको हत्यामा संलग्न सोही ठाउँका विशाल तामाङलाई प्रहरीको कुकुर तालिम केन्द्रको रोनीले सोमबार बिहान सुतिरहेका ठाउँमा पुगेर पक्राउ गर्न सहयोग गरेको हो। सानुकाजीको आइतबार राति मातातीर्थकै ढाक्सिङ जंगलमा हत्या भएको थियो।

प्रहरीका अनुसार सानुकाजीकी ४८ वर्षीया पत्नी पूर्णलक्ष्मी र २२ वर्षीय विशालबीच अनैतिक सम्बन्ध थियो। सोही सम्बन्ध लुकाउन विशाल र पूर्णलक्ष्मी मिलेर सानुकाजीको हत्या गरेको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी दिन महाशाखामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा डीएसपी उमाप्रसाद चतुर्वेदीले सानुकाजीको हत्यामा विशाल संलग्न रहे पनि पूर्णलक्ष्मीले पनि साथ दिएको बताए। विशाल र पूर्णलक्ष्मीले जंगलमा खुर्पा र चिर्पट प्रहार गरी सानुकाजीको हत्या गरेर शव बनतरुल खनेको खाल्टोमा पुरेका थिए।

प्रहरीका अनुसार विशालसँग पूर्णलक्ष्मीको सम्बन्धका विषयमा पतिपत्नीबीच विवाद भएपछि आइतबार राति साढे सात बजे पूर्णलक्ष्मी घरबाट निस्केकी थिइन्। त्यसपछि खोज्दै जाँदा सानुकाजीले ढाक्सिङ जंगलमा विशाल र पूर्णलक्ष्मीलाई सँगै भेटेका थिए। पत्नीलाई राति परपुरुषसँग भेटेपछि सानुकाजी आक्रोशित भएका थिए। त्यस क्रममा सानुकाजी र विशाल तथा पूर्णलक्ष्मीबीच विवाद भएको थियो। विवादका क्रममा सानुकाजीको हातमा रहेको खुर्पा विशालले खोसेर उनैमाथि प्रहार गरेका थिए।

कमेन्टहरु
Loading...