हनुमानढोकाको ढुकुटीमा चाँदीका डल्लैडल्ला

२२ चैत, काठमाडौं । हनुमानढोकास्थित पुरातात्विक महत्वको ढुकुटी बिहीबार खोलिएको छ । सरकारको निर्देशन अनुसार पुरातत्व विभाग नेतृत्वको टोलीले ढुकुटी खोलेको हो । हनुमानढोका दरबार परिसरमा झाडीभित्र रहेको पुरानो घरभित्रको ढुकुटी खोल्न दिनभरजसो लागेको थियो ।

पहिलो ढुकुटी खाली रहेको र दोस्रोमा भने फलाम तथा काठका प्रशस्त बाकस भेटिएको छ । ‘तर बाकसभित्र के छ भन्ने कुरा हेर्न भ्याईएको छैन’ ढुकुटी निरीक्षणपछि पत्रकारसित कुराकानी गर्दै विभागका महानिर्देशक भेषराज दाहालले भन्नुभयो । बाकसभित्र के छ भन्ने कुरा थाहा नभएपनि बाहिर भने प्रशस्त मात्रामा चाँदीका डल्लाहरु फेला परेको छ । ठूला ईंटा आकारका ८८ देखि ९० थान चाँदीका डल्ला भेटिएको दाहालले जानकारी दिनुभयो । तर बाहिर सुन चाहिँ नदेखिएको दाहालले बताउनुभयो । उहाँका अनुसार ढुकुटीभित्रको खाली कोठामा मन्दिरमा चढाईने प्रशस्त्र सामग्रीहरु देखिएको छ ।

बाकस खोलेर हेर्न र भित्र रहेका सरसामानको पहिचान गर्न समय लाग्ने दाहालले बताउनुभयो । टोलीले केही दिनभित्र यसबारे जानकारी दिने उहाँको भनाई छ ।

निकै पुरानो र जीर्ण रहेको ढुकुटी खोल्न घण्टौ समय लागेको थियो । मूलढोका र भित्रका गरी १५ वटा पुरानो ताला तोडेर ढुकुटी खोलिएको हो । ढुकुटी खोलेपनि कुनै सामान नचलाइएको र कोठा सिल गरेर छोडिएको छ । ढुकुटीलाई हनुमानढोकामा तैनाथ सेनाकै सुरक्षामा राखिएको छ । cp. onlinekhabar.com

ढुकुटी भित्रका बाकसमा मल्लकालदेखिका पुराना र ऐतिहासिक धनमाल रहेको अनुमान छ । कहिल्यै नखोलेको भनिएको ढुकुटी २०१५ सालमा खोलेर ७५ लाख भारतीय रुपैंया सटही गरिएको थियो । ढुकुटीमा देवी-देवताको नाममा रहेका अनगिन्ती गहना र अथाह सम्पत्ति हुन सक्ने अनुमान छ । सयौं वर्ष पुरानो ढुकुटी मक्किएर ढल्न लागेपछि सरकारले खोल्न निर्देशन दिएको हो ।

कमेन्टहरु
Loading...