सीटीईभीटीमा आफ्न्त थुपार्ने थलो, ३१ जोडी श्रीमान्–श्रीमती जागिरे

काठमाडौं, १ माघ /सानोठिमीमा रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) भित्र जागिर खानेरखुवाउने पारिवारिक जालोका केही प्रतिनिधि पात्र हुन् उनीहरू । सीटीईभीटीका तीन कर्मचारी संगठनका अध्यक्षका आफन्त हुन् यिनीहरू । अध्यक्षहरू मात्रै किन  ? पहुँचवाला कर्मचारी, निर्देशक र पूर्वसदस्यसचिवका आफन्तसमेत धेरैले ठूलो संख्यामा नातागोतालाई जागिर खुवाएका छन्। आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले खबर लेखेका छन् ।

सीटीईभीटीमा करिब १४ प्रतिशत कर्मचारी नातागोताका छन् । हाल कार्यरत ९ सय ३२ कर्मचारीमध्ये १ सय ३० भन्दा बढी पारिवारिक सदस्य त छन् नै, श्रीमान्–श्रीमतीसमेत ३१ जोडी छन् । यसमा निर्देशक तहका कर्मचारीसमेत पर्छन् ।

पूर्वसदस्य सचिव रामहरि लामिछानेकी श्रीमती संगीता अहिले पनि सीटीईभीटीमै जागिरे छिन् । रामहरि भने सदस्यसचिवबाट राजीनामा दिएर कोलम्बो प्लान स्टाफ कलेज (सीपीएससी) फिलिपिन्सको महानिर्देशक पदमा छन् । ‘मैले श्रीमतीलाई जागिर लगाइदिनुपर्‍यो भनेर कसैलाई गुहारेर खुवाएको होइन, दुर्गममा सरुवा गरेपछि व्यवस्थापनले नै श्रीमतीलाई पनि जागिर दिएर पठाएको हो,’ उनले भने ।

कांग्रेस नेता गोविन्दराज जोशीले (०४८–०५१) शिक्षामन्त्री हुँदा सीटीईभीटीलाई कार्यकर्ता र आफन्त भर्ती केन्द्र बनाएका थिए । उनी मन्त्री हुँदा गोरखाका सरोज देवकोटा सीटीईभीटीका उपाध्यक्ष थिए । ‘त्यतिबेला उनीहरूले एकैपटक पाँच सयलाई जागिर खुवाए,’ सीटीईभीटीका पूर्वनिर्देशक एवं शिक्षाविद् टंकनाथ शर्मा भन्छन्, ‘सीटीईभीटीमा प्राविधिक पृष्ठभूमि भएका कर्मचारी आवश्यक हो । तर उनीहरूले साधारणतर्फका कर्मचारी भरे ।’

त्यसबेला जागिरमा छिरेकाहरू सबैजसो जोशीका कार्यकर्ता, नातागोता र देवकोटाका आफन्त छन् । यहाँ एकै परिवारका सदस्य र आफन्तको ‘जालो’ रहेका धेरै उदाहरण छन् । कुनै बेला सदस्यसचिव भएका देवकोटा खलकको उदाहरण हेरौं । जिता–६ लमजुङकी रजनी देवकोटाले २१ असार ०५३ मा यहाँ जागिर प्रवेश गरिन् । उनी अहिले प्रशासनिक अधिकृत छिन् ।

उनका भाइ शंकर न्यौपाने सीटीईभीटीमै जागिरे छन् । पालुङटार–५ गोरखाका उनका देवर रामहरि देवकोटा १४ साउन ०५४ देखि जागिरे छन् । उनीहरूमध्ये रामहरि सीटीईभीटी पोलिटेक्निकमा उपनिर्देशक छन् । रजनी परीक्षा नियन्त्रण कार्यालय ९पनिका० मा प्रशासकीय अधिकृत छिन् । शंकर स्कुल अफ हेल्थ साइन्स भरतपुरमा छन् । उनीहरूबाहेक पनि यहाँ देवकोटा नाता पर्ने धेरै कर्मचारी छन् ।

कांग्रेस समर्थक कर्मचारी संघका महासचिव शंकरदेव कोइराला, उनका भतिज कुमार, भतिजी प्रमिला र भतिजी ज्वाइँ शालिकराम डाँगी यहीँका जागिरे हुन् । सेती प्राविधिक शिक्षालय दिपायलका कामु प्रिन्सिपल शालिकरामका साडुभाइ होमनाथ अधिकारी रत्नकुमार बान्तवा पोलिटेक्निक इन्स्टिच्युट इलामका प्रिन्सिपल हुन् । कुमारका दाइ विष्णु कोइरालाले ‘नक्कली सर्टिफिकेट काण्ड’ लागेपछि जागिर छोडे ।

उनीहरूमध्ये विष्णु सबभन्दा पहिला सीटीईभीटी प्रवेश गरेका थिए । त्यसपछि भाइ कुमार २५ असार ०६३ मा प्रवेश गरे । आमोदप्रसाद उपाध्याय शिक्षामन्त्री भएका बेला अस्थायी कर्मचारी निष्कासन गर्दा कुमार पनि निकालिए । पछि ०६३ मा उनलाई फेरि जागिरमा छिराइयो । शालिकराम ०६७ मा स्थायी भए । उनकी श्रीमती प्रमिलालाई २९ साउन ०७२ मा स्थायी गरियो ।

लेखा अधिकृत कृष्णबहादुर खडकाकी श्रीमती र साली पनि यहाँ जागिरे हुन् । खडका ०५३ मा प्रवेश गरेका थिए, ०६५ मा स्थायी भए । उनकी श्रीमती बिनु ०५६ मा प्रवेश गरेर ०६५ मा स्थायी भइन् । खडकाले साली इनुलाई पनि सरकारी सेवामा प्रवेश गराए । उनी ०७२ कात्तिकमा स्थायी बनिन् ।

पूर्व क्षेत्रीय निर्देशक दीपक नेपाली क्षत्रीका पाँच जना आफन्त सीटीईभीटीमा छन् । दीपकभन्दा अघि उनकी श्रीमती उषाले जागिर खाइसकेकी थिइन् । उषा २४ मंसिर ०५३ मा प्रवेश गरेकी हुन् । उषाका भाइ केशव मिश्र र बुहारी सरस्वती मिश्र पनि सीटीईभीटीमै छन् । केशवले ०४५ मा सीटीईभीटी प्रवेश गरेका थिए भने उनले श्रीमती सरस्वतीलाई ०६१ मा जागिरमा छिराए । सरस्वतीे २ वर्षअघि स्थायी भइसकेकी छन् । दीपकले अवकाश पाइसके ।

लेखा अधिकृत दिनेश लुइँटेलकी श्रीमती सपना न्यौपाने, बहिनी विद्या शर्मा, ज्वाइँ प्रमोद पौडेल र काका तारा लुइँटेल सीटीईभीटीमा जागिरे छन् । उनीहरूमध्ये तारा सबभन्दा पहिला १९ असार ०४१ मा सेवा प्रवेश गरेका हुन् । त्यसपछि दिनेश २ पुस ०५३ मा छिरे । उनकी श्रीमती सपना १ साउन ०७३ मा जागिरे भइन् । दिनेशका ज्वाइँ प्रमोद पनि ०५३ मै प्रवेश गरेका हुन् ।

पाठ्यक्रम निर्देशक दीपक पौडेलका परिवारिक सदस्यको जागिरको थलो पनि बनेको छ सीटीईभीटी । ५ असार ०४९ मा प्रवेश गरेका पौडेलका बहिनी र ज्वाइँ पनि यहाँ छन् । ज्वाइँ वरिष्ठ लेखा अधिकृत उमेशप्रसाद खरेल ०५३ असारमा प्रवेश गरेका हुन् भने बहिनीले त्यही वर्ष जेठमा जागिर सुरु गरेकी हुन् ।

परिवारको जालो बनाउने अर्का व्यक्ति टैलेन्द्र आचार्य पनि हुन् । ३० असार ०५४ मा प्रवेश गरेका टैलेन्द्रले आफन्तलाई राम्रै जागिर खुवाएका छन् । भाइ प्रकाश, भतिजा भरत, बहिनी हरिकला र ज्वाइँ खेम पोखरेल ०६६ देखि जागिरे छन् । अर्का भतिज प्रकाश आचार्य भने ४ पुस ०६५ मा छिरेका हुन् ।

सीटीईभीटीबाट सहजै सूचना नपाएपछि हामीले सूचनाको हक प्रयोग गरेर विवरण लिएका हौं । अहिलेसम्म फेला पारेको तथ्यांकमा यहाँ ३१ जोडी श्रीमान्–श्रीमती मात्रै छन् । ज्वाइँ–जेठान ४ जना, दाजु–भाइ २४ जना, बाबु–छोरा ८ जना, बहिनी–ज्वाइँ ४ जना छन् । त्यस्तै भतिजी र ज्वाइँ २ जना, साडुदाइ–साडुभाइ ८ जना, सालारसाली–भिनाजु ६ जना, देवर–भाउजू २ जना, काका–भतिज २ जना, दिदी–भाइ४ जना, भान्जा–भान्जी ४ जना छन् ।

कमेन्टहरु
Loading...