माग पुरा गर्ने प्रतिबद्धता नआइ राष्ट्रपतिसँग पनि वार्ता हुँदैनः गजुरेल

४ बैशाख, काठमाडौं । सरकारविरुद्ध आन्दोलनरत नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले चुनावी सरकार विघटनसहितका माग पूरा गर्ने ठोस प्रतिबद्धता नआएसम्म राष्ट्रपतिसँग पनि वार्ता नगर्ने बताउनु भएको छ ।

cp gajurelचैत १ गते चार दलवीच भएको ११ बुँदे राजनीतिक सम्झौता, राष्ट्रपतिद्धारा जारी २५ बुँदे बाधा अडकाउ फुकाउ आदेश र त्यसबाट बनेको चुनावी सरकारको विघटन र गोलमेच सम्मेलनबाट नयाँ सरकार गठनको ठोस प्रतिबद्धता नआएसम्म वार्तामा नबस्ने उहाँको भनाई छ । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा गजुरेलले राष्ट्रपतिले आफूहरुलाई बारम्बार वार्ताको लागि बोलाएको दावी गर्नुभयो ।

चार दलवीच भएको ११ बुँदे सम्झौताले मुलुकलाई संविधान विहीनता र निरकुशता तिर लगेको कारण असारमा निर्वाचन हुन नसकेको भन्दै उहाँले यस्तै अवस्थामा मंसिरमा पनि निर्वाचन हुन नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो-’असारमा निर्वाचन हुन नसक्नुको कारणमा कुनै परिवर्तन नआएको छैन । यस्तो अवस्थामा मंसिरमा पनि निर्वाचन हुन सक्दैन । ११ बुँदे सम्झौता, २५ बुँदे बाधा अडकाउ खारेज, त्यसबाट बनेको सरकार खारेज र गोलमेच सम्मेलनबाट नयाँ सरकार बनाउने कुरा सुनिश्चित भएमात्रै निर्वाचनमा भाग लिन्छौं ।’

यथास्थितिमा निर्वाचन गर्नु ज्ञानेन्द्र शैलीको नौटंकी मात्रै हुने भन्दै गजुरेलले असारमा निर्वाचन हुन नदिनु जनताको विजय भएको बताउनु भयो । उहाँले भन्नुभयो-’असारमा निर्वाचन निरकुंशतालाई बैद्यता दिने प्रयास थियो । त्यो हुन सकेन जनताको विजय भयो ।’

तत्काल वार्ता भएर समस्या समाधान हुने अवस्था नरहेकोले पार्टीले सडक आन्दोलन गर्ने निर्णयमा पुगेको भन्दै गजुरेलले नेकपा-माओवादीले देशभक्त र निरकुंशता विरोधी धारको नेतृत्वले लिएर आन्दोलन गर्ने बताउनु भयो । पार्टीको केन्द्रीय कमिटिको बैठकले सडक आन्दोलनको कार्यक्रम तय गरेको र आगामी ९ गते बस्ने विस्तारित बैठकले त्यसलाई अन्तिम रुप दिने उहाँको भनाई छ ।

एमाओवादी अध्यक्ष प्रचण्ड एजेण्डा विहीन भएकोले चीन र भारतको भ्रमणबाट एजेण्डा लिएर आउने टिप्पणी गर्दै गजुरेलले पार्टी अध्यक्षले देशको विकासको लागि बजेट ल्याउँछु भन्नु जनतालाई दिउँसै रात पार्नु भन्दा अरु केही नभएको टिप्पणी गर्नुभयो । cp. onlinekhabar

 

कमेन्टहरु
Loading...