बैशाख १२ मा कांग्रेसको आमसभा

पोखरा, ३० चैत /नेपाली कांग्रेस कास्कीको जनजागरण अभियान अन्तर्गत पर्वत र कास्कीको सिमानामा पर्ने स्थानीय नयाँपुलमा आगामी बैशाख १२ गते आमसभा गर्ने भएको छ । आमसभालाई पार्टीका केन्द्रिय सदस्य एवं पूर्व सभासद युवा नेता गगन थापा लगायतका केन्द्रिय नेताहरुले सम्बोधन गर्ने भएका छन् । शुक्रबार कास्की जिल्ला निर्वाचन क्षेत्र नं ४ अन्तर्गत इलाका नं १० को कांग्रेस बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले नवलपरासीको त्रिवेणीमा सम्पन्न पार्टी महासमिति बैठकले पारित गरेका महत्वपूर्ण निर्णयहरुलाई जनताका माझ लैजाने उद्देश्यले आमसभा गर्न लागेको इलाका नं १० का संयोजक खगेन्द्र गौचनले बताए । बैठकले आमसभालाई भव्यरुपमा सम्पन्न गर्न पार्टीका क्षेत्रिय कोषध्यक्ष जिवनाथ पौडेलको संयोजकत्वमा इलाका संयोजक खगेन्द्र गौचन र क्षेत्रिय प्रतिनिधि ललित गुरुङ रहेको अर्थ संकलन समिति गठन गरिएको छ ।

बैठकमा पार्टीका महासमिति सदस्य पोषनाथ शर्मा, जिल्ला सचिव युवराज कुँवर, जिल्ला सदस्य एवं पूर्व महासमिति सदस्य देवेन्द्रकुमार शेरचन, जिल्ला सदस्य मनोज गुरुङ क्षेत्रिय सभापति आइ बहादुर गुरुङ, राजबहादुर गुरुङ, क्षेत्रिय सचिव प्रकाश बराल लगायतले आसन्न संविधान सभा निर्वाचनमा तयारीका बारेमा चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...