उडुस लाग्ने ठाउँमा कांग्रेस महासमिति सदस्य

बालकृष्ण अधिकारी, त्रिवेणी, चैत २८ – यहाँ जारी कांग्रेस महासमितिको  बैठकमा सहभागी महासमिति सदस्यले आफूहरुलाई आयोजकले भेदभाव गरेको गुनासो गरेका छन्। उनीहरुले पार्टीका केन्द्रीय सदस्यलाई सुविधासम्पन्न होटलको व्यवस्था गरेका तर सदस्यलाई भने त्रिपालमुनि सुताएको गुनासो गरेका छन्।

 महासमितिका सदस्यहरुले सुत्न समेत उचित व्यवस्था नगरेको भन्दै सभापति सुशील कोइरालासँग समेत गुनासो गरेका थिए भने केही महासमिति सदस्यले बन्दसत्रमा समेत आलोचना गरेका थिए।महासमिति सदस्य सुरेन्द्र तिमल्सेनाले महासमिति सदस्य र केन्द्रीय सदस्यलाई ठाउँमा भेदभाव गरेको गुनासो गरे। ‘जसको सवारीसाधन छ उसलाई राम्रो बस्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘आयोजकले केन्द्रीय सदस्य र महासमिति सदस्यलाई विल्कुलै विभेद गरेका छन्, उडुस लाग्ने ठाउँमा राखिएको छ।’

सुत्ने व्यवस्था राम्रो नभएपछि सोमबार साँझ नै त्रिवेणीधामा आएका महासमिति सदस्यले जुम्रा र उडुस परेको भन्दै सुत्न बनाइएको टेन्ट भत्काइदिने धम्की दिएका थिए। ‘केही साथीहरुले त पाल सबै भत्काइ दिने कुरा गर्नुभएको थियो । पार्टीको बैठक भएकाले त्यस्तो हुनबाट रोक्यौ,’ तिमल्सेनाले भने।

महासमितिका सबै सदस्यलाई मोक्षधामा र नजिकका विद्यलालयमा बस्ने व्यवस्था मिलाइएको छ भने पार्टीका पदाधिकारीलाई मोक्षधामको सुविधासम्पन्न कोठाको व्यवस्था गरिएको थियो। त्यस्तै, केन्द्रीय सदस्यलाई सुनवल, परासी र बर्दघाटका होटलमा बस्ने व्यवस्था गरेको छ। तर, केन्द्रीय सदस्य पनि आयोगले गरेको होटलहरु छोडेर बुटवल भैरहवा र सुनौलीमा बस्दै आएका छन्।

बैठकमा खाना र बस्ने राम्रो व्यवस्था गरिएको छैन। खानाको राम्रो व्यवस्था नहुँदा केन्द्रीय सदस्य र महासमिति सदस्य खानाको लाइनामा लामो समय बसेका देखिन्थे। लामो लाइन र खानाको अभावमा नेताहरु फरक-फरक स्थानबाट दाल, भात र तरकारी खोज्दै गरेका देखिन्थे। आफ्ना गाडी भएका नेताहरु भने खानको राम्रो प्रबन्ध नभएपछि खाना खाना बन्दसत्र भएको स्थानबाट २३ देखि २७ किलोमिटर टाढासम्म पुगेका थिए। देशभरीबाट १३ सय ३८ महासमिति सदस्य सहभागी हुनुपर्ने बैठकमा हिजो साँझसम्म ११ सय ५७ ले मात्र नाम दर्ता गराएका छन्।

कमेन्टहरु
Loading...