अन्तर्राष्ट्रिय संस्थाको संर्वेक्षणमा चुनाव पछि काँग्रेस पहिलो, एमाले दोस्रो र एमाओवादी तेस्रो

२ साउन, काठमाण्डौं । आउँदो संविधानसभा चुनावमा नेपाली काँग्रेसले सर्वाधिक मतसहित पहिलो स्थान ल्याउने एक अन्तर्राष्ट्रिय संस्थाको अध्ययनले देखाएको छ । काँग्रेसपछि एमालेले दोस्रो र एमाओवादीले तेस्रो स्थान पाउने अध्ययनको प्रतिवेदनको आँकलन छ ।

इन्टरनेसनल आइडियाको सहयोग र सहकार्यमा ‘दक्षिण एसियामा लोकतन्त्रको स्थिति/नेपाल च्याप्टर’ द्वारा २०१३ मा गरिएको अध्ययन प्रतिवेदनमा काँग्रेसले ४१ प्रतिशत, नेकपा एमालेले २९ प्रतिशत तथा एमाओवादीले १६ प्रतिशत मत पाउने उल्लेख छ । नेकपा-माओवादी, मधेसी दलहरु, राप्रपा र राप्रपा नेपालले २ देखि ३ प्रतिशत मात्र मत ल्याउने अध्ययनको निष्कर्ष रहेको नागरिक दैनिकमा खबर छ ।

उक्त संस्थाले निकालेको २१ पृष्ठ लामो प्रतिवेदनअनुसार सर्वेक्षण गरिएका ३ हजार ८ सय ५० मतदातामध्ये ठूलो संख्याले देशमा जति नै राजनीतिक परिवर्तन भए पनि सधैँ भोट दिँदै आएको राजनीतिक दललाई नै बढी विशवास गरेको देखियो । सर्वेक्षणको नतिजा अनुसार ३८ प्रतिशतले आफूले पहिले मत दिएकै दललाई भोट दिने बताएका थिए । २१ प्रतिशतले सिद्दान्त मन परेकालाई मत दिने बताएका थिए । साथै, अत्यधिक ६३ प्रतिशत उत्तरदाताले संविधानसभा चुनावको सबैभन्दा महत्वपूर्ण एजेन्डा राजनीतिक नै भएको जनाएका थिए । विकास र जल्दाबल्दा समस्याको एजेन्डालाई उनीहरुले दोस्रो प्राथमिकतामा राखेका छन् । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...