चुडामणि शर्माले ४ करोड २९ लाख भ्रष्टाचार गरेको दाबी सहित मुद्दा दर्ता

काठमाडौं,  १५ माघ /अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।शर्माले ४ करोड २९ लाख ५४ हजार १ सय २३ रुपैयाँ भ्रष्टाचार गरेको दावी सहित अख्तियारले सोमबार​​ अदालतमा मुद्दा दायर गरेको हो ।

शर्माले सरकारी जागिर खाए यता ३ करोड ६३ लाख ७२ हजार रुपैयाँ आर्जन गरेको देखिएको तर उनी र उनका आफन्तको  नाममा ७ करोड ९३ लाख २७ हजार रुपैयाँ भन्दा धेरै सम्पत्ति देखिएको अख्तियारले जनाएको छ ।शर्मालाई ४ करोड २८ लाख रुपैयाँको विगो तथा हदैसम्मको कैद सजाय माग गरिएको छ । शर्माको ४ करोड २८ लाख ५४ हजार रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको तथा सम्पत्ति विवरण पनि अमिल्दो र अस्वभाविक देखिएको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।शर्माकी श्रीमती र छोरा छोरीको नाममा पनि विभिन्न बैंकमा रकम तथा शेयर रहेको, परिवारले महँगा घर तथा गाडीको प्रयोग गरेको देखिए पनि बैध आयको स्रोत नदेखिएको अख्तियारको दावी छ ।शर्मा विरुद्ध अख्तियारको यो दोस्रो भ्रष्टाचार मुद्दा हो ।

कर फर्छ्यौट आयोगमा रहँदा अस्वभाविक रुपमा १० अर्व रुपैयाँ कर छुट दिएको भन्दै शर्मालाई अख्तियारले यसअघि अर्को भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।त्यो मुद्दामा भने शर्मा सहित कर फछ्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल विरुद्ध १० अर्ब २ करोड रुपैयाँ माग दाबी गरिएको छ ।त्यो मुद्दामा अनुसन्धानका लागि अख्तियार द्वारा पक्राउ परेका शर्मा सर्वोच्च अदालतको आदेशमा यसअघि नै रिहा भइसकेका छन् ।

कमेन्टहरु
Loading...