चिनिया युवाहरु पोखरामा, चीन नेपालको भरपर्दौ विकास साझेदार ः अध्यक्ष पालिखे 

पोखरा, ३० चैत । पोखरा उद्योग वाणिज्य संघले पोखरा भ्रमणमा आएको  चिनिया युवाहरुको उच्चस्तरीय प्रतिनिधीमण्डललाई स्वागत गर्दै पोखराको भौगोलिक, साँस्कृतिक, आर्थिक, पर्यटनलगायतका विविध क्षेत्रबारे जानकारी दिएको छ ।
नेपाल–चीन युवा आदान प्रदान कार्यक्रममार्फत नेपाल भ्रमणमा आएको सो प्रतिनिधीमण्डलको सम्मानमा बुधबार संघको सचिवालयमा आयोजित कार्यक्रममा बोल्दै  पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले नेपाल र चीनको सम्बन्ध देवताको पालादेखि नै सुरु भएको बताउनुभयो ।
 ‘मञ्जुश्रीले काठमाण्डौंको चोभारमा खड्गले हान्दै पानीका निकास खोलेपछि त्यहाँ बस्ती बसेको किंवदन्ती छ’,अध्यक्ष पालिखेले नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै भन्नुभयो,‘भृकुटीको तिब्बतमा भएको बिबाहले त हामीबीच झन गहिरो पारिवारिक सम्बन्ध नै स्थापित भएको छ ।’ उहाँले मित्रराष्ट्र चीन नेपालको भरपर्दौ विकास साझेदार समेत रहेको चर्चा गर्दै जनस्तरको सम्बन्ध विकासको लागि यस्ता भ्रमणहरु फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
पोखराले चीनका केही नगरहरुसँग भगनी सम्बन्ध स्थापना गर्नुको उदेश्य समेत जनस्तरको सम्बन्ध बिस्तार नै भएको उहाँको भनाई रहेको थियो । उहाँले ठूलो चीनबाट नेपाल भ्रमण गर्नेहरुको संख्या बढाउनका लागि पहल गर्न सम्बन्धित निकायहरुसँग आग्रह पनि गर्नुभयो । भूकम्पपछि नेपाल आउने पर्यटक घटेको उहाँको गुनासो थियो ।  ५३ सदस्यीय चिनिया प्रतिनिधीमण्डलका नेता तथा चिनीया युवा महासंघका कार्यवाहक उपमहासचिव वाङ फेङले यातायातको सहज पहुँच नहुँदा नेपाल घुम्न चाहने चिनियाहरुलाई समस्या परेको बताउनुभयो ।
धेरैजसो चिनियाहरुलाई सुन्दर नेपालको बारे जानकारी नहुँदा उनीहरु अन्यत्रै जाने गरेको उहाँको भनाई थियो । सन् २०१५ मा नेपाल आउने चिनियाहरुको संख्या सोही वर्ष भारत भ्रमणमा निस्कनेभन्दा ४० गुणा बढी भएको चर्चा गर्दै उहाँले सजिलो र सस्तो हवाई तथा स्थल मार्गको सुविधाले चिनिया पर्यटक बढ्ने विश्वास दिलाउनुभयो । नेपाल आश्चर्यजनक रुपले सुन्दर रहेको बताउँदै उहाँले छिमेकीको सम्वृद्धिको लागि सहयोग गर्न चीन सधैँ तत्पर रहेको बताउनुभयो ।‘चीनले अगाडि सारेको वान बेल्ट, बान रोड(एक क्षेत्र, एक सडक) को अवधारणा छिमेकीको सम्वृद्धिको चाहनाले निर्देशित रहेको छ’,उहाँले भन्नुभयो,‘चीन यो क्षेत्रमा आफ्नो लगानी बिस्तार समेत गर्न चाहन्छ ।’
सन् १९४९ मा स्थापना भएको चिनीया युवा महासंघ चिनिया सरकार मातहत रहन्छ । यसमा चीनभर रहेका १हजार ४ सय ५ वटा राष्ट्रिय कार्यकारी सदस्यसहित  ९४ हजार जना कार्यसमिति सदस्य रहन्छन् । संघले  करिब ३० करोड युवाहरुको हितमा काम गर्ने प्रतिनिधीमण्डलका नेता वाङ फेङले बताउनुभयो ।  मानवीय संसाधनको प्रयोग,वातवरणीय सचेतता कार्यक्रममा उत्कृष्ट योगदान पु¥याएबापत संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमबाट दुई पटक चिनिया युवा संघ पुरस्कृत पनि भइसकेको छ । नेपाल भ्रमणमा रहेको प्रतिनिधीमण्डलमा युवा महासंघका पदाधिकारी, डाक्टर, कलाकार, उद्योगपति, प्राध्यापक, पत्रकार तथा चित्रकारहरुको पनि सहभागिता रहेको छ ।
कमेन्टहरु
Loading...