पोखरामा चिनियाँ सूचना केन्द्र स्थापना गरिने

कुनमिङ्ग, ८ जुलाई/पोखरामा चिनियाँ सूचना केन्द्र स्थापना गरिने भएको छ । पोखरा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत झलकराम अधिकारीले पोखरेली टोली कुन्मिङबाट पोखरा फर्के लगत्तै सूचना केन्द्र स्थापना गरिने बताएका छन् ।

भगिनी सम्बन्ध स्थापनाको लागि कुनमिङमा रहेको टोलीले भगिनी सम्बन्धमा हस्ताक्षर गरे लगत्तै सोमबार अपरान्ह कुनमिङ्गका पत्रकार र पर्यटन व्यवसायीहरुसँग पोखरामा पर्यटन प्रवद्र्धनबारे भएको अन्तरक्रियामा सहभागीहरुलाई स्वागत गर्दै अधिकारीले कुनमिङ्गका पर्यटन व्यवसायीहरुलाई पोखरामा स्वागत गर्न आफु आतुर रहेको बताए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य टिकाराम सापकोटाले पोखराको पर्यटन अवस्था, महत्वपुर्ण दृश्यावलोकन गन्तव्य र साँस्कृतिक सम्पदा बारेको जानकारी मुलक प्रस्तुति दिदैँ पोखरा प्रकृति र संस्कृतिले सिँगारेको शहरको रुपमा चिनारी दिए । अन्तरक्रियामा सहभागी कुनमिङ्गका पत्रकार र पर्यटन व्यवसायीहरुले पोखरा र कुनमिङ्गबीच भगिनी सम्बन्ध स्थापना भएकोमा खुसी व्यक्त गर्दै भिसा सेन्टर कुनमिङ्गमा खोल्न र प्रकृया सहज बनाउन आग्रह गरे ।

नेपाल पर्यटन बोर्डका पुर्व सदस्य तथा नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेँले सरकारले कुनमङ्गि लगायत चीनका ३ ठाउँमा चाँडै भिसा सेन्टर खोल्न लागेको जानकारी गराए । पश्चिमाञ्चल होटल संघका अध्यक्ष हरी शर्मा, होटल संघका निवर्तमान अध्यक्ष विप्लव पौडेलले अन्तरक्रिया प्रभावकारी भएको र आगामी दिनमा पनि यस्ता गतिविधीलाई निरन्तरता दिने दाबी गरे ।

कमेन्टहरु
Loading...