पूर्वसांसद साहले अस्पतालमै बच्चा छोडिन्

काठमाडौं, २५ चैत /पूर्वसांसद गायत्री साहले ‘डाउन सिन्ड्रोम’ भएको बच्चा जन्मिएको भन्दै बच्चालाई अस्पतालमै छोडेकी छिन् । लापरबाहीले त्यस्तो (शारीरिक विकास कम) हुने बच्चा जन्मिएको भन्दै साहले मेडिसिटी अस्पतालमा बच्चा छोडेकी हुन् ।

साहले फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरा जन्माएकी थिइन् । दुबै खुट्टा केही बांगो देखिए पछि एनआइसियुमा लामो समय बच्चालाई उपचारमा राखिरहे कै अवस्थामा साहले बच्चा छोडेकी हुन् ।

उनले बच्चाको बाँकी जिम्मा अस्पतालले नै लिनुपर्ने अडान राखेकी छिन्। ‘तीन र पाँच महिनामा बच्चाको शारीरिक परीक्षण गर्दा केही देखिएको थिएन,’ साहले भनिन्, ‘तर, जन्मेपछि यस्तो बच्चा आएपछि मैले अस्पतालको जिम्मामा छोडेकी हुँ ।’ गर्भवतीलगत्तै उनले मेडिसिटी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरेकी थिइन् ।

लामो समय एनआइसियुमा राखी बच्चाको रगत परीक्षण गर्न भारत पठाइएको थियो। भारतबाट आएको रिपोर्टमा ‘डाउन सिन्ड्रोम’ देखिएपछि साहले अस्पतालमै बच्चा छोडेकी हुन् ।

‘यस्तो बच्चा जन्माउन हुँदैन भन्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन छ, तर उहाँहरूले लापरबाही गरेकाले यस्तो बच्चा जन्मिन पुग्यो,’ उनले भनिन्, ‘त्यो भन्दा आठ महिनाअघि पनि त्यस्तै बच्चा रहेको थाहा पाएपछि मैले गर्भपतन गराएकी थिएँ ।’ आफूले सो घटना पनि डाक्टरलाई बताएको तर डाक्टरले लापरबाही पूर्वक बच्चाको शारीरिक जाँचमा त्रुटि गरेको आरोप उनको थियो ।

बच्चा अहिले अस्पताल मै उपचारमा रहेका छन्। अस्पतालले भने लापरबाही नगरेको भन्दै सो बच्चा साहले नै जिम्मा लिनुपर्ने बताएको छ। ‘उहाँले केही असहमति राखेर बच्चा नलिने अडान राख्नुभएको छ, तर यस विषयमा कुराकानी भइरहेकै छ, उहाँले छोडिसक्नुभएको चाहिँ हैन,’ अस्पतालकी सूचना अधिकृत मनिता पोखरेलले भनिन्, ‘उहाँहरूसँग कुराकानी भइरहेको छ ।’

साहले भने जस्तो जाँच १४ १८ हप्तामा गर्नुपर्छ। साहको नियमित स्वास्थ्य परीक्षण गरिरहेकी मेडिसिटीकी डाक्टर मीरा सिंह श्रेष्ठले ‘डाउन सिन्ड्रोम’ टेस्ट नगरिएको बताइन् ।

‘डाउन सिन्ड्रोम जाँच गर्ने नेपालमा कुनै प्रविधि छैन, प्रोटोकल नै छैन,’ श्रेष्ठले भनिन्, ‘उहाँहरूलाई पीडा परेकाले त्यस्तो लाग्नु स्वाभाविक हो ।’

उनले नेपालका कुनै अस्पतालमा ‘डाउन सिन्ड्रोम’ परीक्षण नहुने बताइन्। ‘विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको स्वास्थ्य नीतिमा पनि यो परीक्षण जरुरी रहेको भनिएको छैन,’ उनले भनिन् ।

उनका अुसार ३५ वर्षभन्दा बढी उमेरका महिलाबाट ‘डाउन सिन्ड्रोम’ बच्चा जन्मिन सक्ने जोखिम हुन्छ। यदाकदा भारत तथा विकसित मुलुकहरूमा ‘डाउन सिन्ड्रोम’ परीक्षण हुने तर त्यो परीक्षण लामो हुने उनले बताइन् । ‘यो परीक्षण १४–१८ हप्ताको गर्भावस्थामा गरिन्छ, तर यो परीक्षण पूरा गर्दा २० हप्ता नाघ्छ, २० हप्ताभन्दा माथिको गर्भपतन कानुन विपरीत पनि हुन्छ,’ श्रेष्ठले भनिन्, ‘हाम्रो तर्फबाट केही पनि गल्ती भएको छैन।’

बीस वर्ष उमेरका हरेक १६ सयमा महिलामा एक जना, २५ वर्षको १३ सय जनामा एक जना, ३५ वर्षको ३ सय ९० जनामा एक जना र ४५ उमेरका ९० जनामा एक जनामा ‘डाउन सिन्ड्रोम’ को समस्या हुन सक्ने डाक्टरहरु बताउँछन् ।

साभारः सेतोपाटी डटकम https://setopati.com/social/178386

कमेन्टहरु
Loading...