चट्याङको प्रकोप र जोगिने उपाय

नेपालमा पछिल्लो दुइ महिनामा चट्याङबाट झण्डै ६० जनाले ज्यान गुमाइसकेका छन् । पि्र मनसुनको यो हताहतीलाई हेर्दा यो वर्ष वर्षायामको समाप्तीसम्ममा चट्याङका कारण ज्यान गुमाउनेका संख्या निकै बढि हुने सहजै अनुमान गर्न सकिन्छ । पोहोर साल नेपालमा चट्याङबाट १ सय ३१ जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ । २०६७ सालमा चट्याङमा परी ८० जनाले ज्यान गुमाएको, ०६८ सालमा त्यो संख्या १०३ पुगेको र गतवर्ष १३१ जनामा उक्लिएको तथ्यांकले पनि नेपालमा वर्षेनी चट्याङको प्रकोपमा परी ज्यान गुमाउनेको संख्या बढिरहेको देखाउँछ ।

आकस्मिक र भयंकर प्राकृतिक प्रकोपको रुपमा लिइने चट्याङबाट बाट विश्वमा प्रतिवर्ष हजारौँको ज्यान जाने गरेको तथ्यांकले पनि यसको भयानकता पुष्टि गर्छ । विश्वमा प्रत्येक दिन ४५ हजार पटक सानाठूला चट्याङ पर्ने गरेका विज्ञहरु बताउँछन् । खासगरी फागुन देखि वषर्ायाम नसकिँदासम्मको समय नेपालमा चट्याङको लागि निकै जोखिमपूर्ण समय हो । मनसुन सकिएपछिको कात्तिक मंसिरको समयमा पनि चट्याङको प्रकोप बढि रहनेगर्छ । अझ निकै गर्मी हुने र पानीको बढि वाष्पिकरण भएर जलवाष्पयुक्त वादल भन्ने कन्भेक्सन प्रक्रियाका कारण फागुन देखि वैशाख सम्मको समय चट्याङ बढि पर्ने गर्छ । चट्याङ के हो ? चट्याङ भनेको एक प्रकारको विद्युतिय चार्ज हो ।

वास्तवमा वायुमण्डलको सबैभन्दा तल्लो तह ट्रोपोस्फेयरमा धनात्मक र ऋणात्मक चार्ज भएका बादलहरुबीचको घर्षण , उनीहरुबीचको विकर्षण र खण्डीकरणका कारण ठूलो शक्ति उत्पन्न हुन्छ । जसबाट ताप , प्रकाश र ध्वनी वा गर्जन एकैसाथ निस्किन्छ । त्यसलाई हामी विजुली चम्किएको , गर्जिएको वा चट्याङ परेको भनेर बुझ्छौँ । यसरी विपरित चार्ज भएका वादलहरुबीचको प्रतिक्रिया वा घर्षणबाट हजारौँ डिग्री सेल्सियस सम्म ताप उत्पन्न हुन्छ । सामान्य चट्याङको विद्युत शक्ति समेत एक अर्व भोल्ट सम्मको हुन्छ । विजुली चम्किँदा उत्पन्न हुने तापिय शक्ति सूर्यको सतहको तापक्रम भन्दा ५ गुणा बढि हुन्छ । त्यो ठूलो तापीय र विद्युत शक्तिको केही हिस्सा पृथ्वीसम्म आइपुग्यो भने पनि त्यसले ठूलो क्षति पुराउँछ जसलाई हामी चट्याङ भन्छौँ ।

वास्तवमा क्युमुलोनिम्बस नामको जलवाष्पयुक्त वादल नै चट्याङको मुख्य कारण हो । यसमा प्रसस्त मात्रामा विपरित विद्युतिय ध्रुवको निर्माणमा भने हावाहुरी , सौर्य विकिरण , जलचक्रको प्रकृया , आद्रता जस्ता प्रकृयाले सहयोग पुराउँछन् । वाष्पिकरण कारण जब उष्ण र आद्र हावा जोडसाथ माथि जान्छ त्यो सेलाउँदै जान्छ र क्युमुलोनिम्बस बादल बन्छ । जे होस् चट्याङ भनेको बादल बाट निस्कने उर्जाको उपज हो र वायुमण्डलमा देखिने विजुलीको धार हो । चट्याङको बेला फलाम , मुसल वा त्यस्तै कुनै पदार्थ आकाशबाट र्झछ भन्ने परम्परागत सोचाइ गाउँसमाजमा छ । तर त्यस्तो होइन । चट्याङ पर्दा कुनै पदार्थ पृथ्वीमा खस्ने नभइ ठूलो परिमाणको विद्युत र तापशक्ति पृथ्वीमा आउँछ जसले आफ्नो सामुन्नेको जुनसुकै चिजलाई पनि नष्ट गर्न सक्छ ।

सामान्यतया हावाहुरी , घना वषर्ा वा हिमपात सँगै चट्याङ पर्नेगर्छ तरपनि कहिलेकाहीँ वषर्ा पूर्वको समयमा वा वर्षा नभैकन पनि चट्याङ पर्नेगर्छ । चट्याङका असर : क्युमुलोनिम्बस बादमा हुने थन्डरस्ट्रोम प्रक्रियाको उपज हो चट्याङ । चट्याङ सँगै पृथ्वीको सतहमा रहेका भौतिक तथा जैविक वस्तुहरुमा क्षति पुग्ने त छँदैछ थन्डर स्ट्रोम प्रक्रियाका अरु धेरै असरहरु पनि छन् । ठूलो आवाजको गड्याङ गुडुङ मानिसलाई सुन्नका लागि पनि निकै डरलाग्दो हुन्छ भने जति धेरै आकाश गज्र्यो उति धेरै वषर्ा हुने गरेको पनि सबैले अनुभव गरेको कुरा हो । क्युमुलोनिम्बस बादलमा हुने थन्डरस्ट्रोम प्रकृयाले ठूलो हावाहुरी , आँधीवेहेरी , असिनापात , तथा टोर्नाडो , साइक्लोन जस्ता विनाशकारी आँधी समेत ल्याउने गर्छ । भुमध्यरेखिय क्षेत्रहरु तथा समुद्रकेा नजिक पर्ने क्षेत्रहरुमा चट्याङ सँगै यस्ता प्राकृतिक विपत्तिहरु आउने गर्छन् ।

त्यस्तै निकै ठूलो वर्षा (क्लाउड ब्रस्ट) का कारण बाढि , पहिरो जस्ता विपद पनि यही वायुमण्डलीय उर्जाका परिणति हुन् । चट्याङका फाइदा : आकाश गर्जने , विजुली चम्किने वा चट्याङ पर्ने प्रक्रिया हानीकारक मात्र होइन फाइदाजनक पनि हुन्छ । पर्यावरणीय सन्तुलनको लागि चट्याङ पर्ने बेलामा उत्पन्न हुने तापिय उर्जा निकै महत्वपूर्ण हुन्छ । आकाशमा विपरित चार्ज भएका बादलहरुबीचको घर्षण ले जुन ठूलो मात्राको तापिय उर्जा उत्पन्न गर्छ त्यसले गराउने रासायनिक प्रतिक्रियाबाट उत्पन्न हुने पदार्थ वनस्पतीहरुका लागि फाइदाजनक हुन्छ । वायुमण्डमा ग्यासको रुपमा रहेको ठूलो परिमाणको नाइट्रोजनलाई वनस्पतीले ग्रहण गर्नसक्ने खालको नाइट्रेटको रुपमा बदल्ने काम त्यही तापिय उर्जाले गर्छन । विजुली चम्किँदा उत्पन्न भएको अत्यधिक तापक्रममा नाइट्रोजन ग्यास अक्सिजन ग्यास सँग मिलेर नाइट्रेट बन्दछ जुन पदार्थ वर्षासँगै पृथ्वीमा आउँछ माटोमा मिल्दछ जसलाई विरुवाले मलको रुपमा लिन्छन् ।

त्यसकारण पनि गड्याङ गुडुङ सहित परेको पानी मलिलो हुन्छ भनेर बुढापाकाले भन्ने गर्छन् । गड्याङगुडुङ सहित परेको पानीले युरिया मलमा भएको जस्तै पोषण तत्व बोकेको हुन्छ त्यसैले बालीनाली वा बोटविरुवाका लागि यो निकै फाइदाजनक हुन्छ । त्यसकारण हाम्रा भौतिक संरचना वा जनधनको विनाश गर्ने रुपमा आएको चट्याङ हाननीकारक भएपनि जुन प्रक्रियाद्धारा चट्याङ पर्छ त्यो बोटविरुवा , बालीनाली वा अन्ततः हाम्रै लागि निकै फाइदाजनक र अत्यावश्यक छ । चट्याङबाट कसरी बच्ने ? थन्डरस्ट्रोम प्रक्रियाद्धारा विजुली चम्किने , चट्याङ पर्ने , गर्जन हुने , वर्षा , हुरी वा आँधीबेहेरी हुने लगायतका प्रकोपहरु सिर्जना हुन्छन् । चट्याङ सबैभन्दा बढि भयानक प्रकोप मानिन्छ । हुनत चट्याङ पर्दा पृथ्वीमा आउने ताप र विद्युत उर्जा निकै छोटो समयसम्म मात्र रहन्छ ।

तरपनि ठूलो परिमाणको उर्जा हुने भएकाले यो प्रलयकारी हुन्छ । चट्याङबाट मानिस , जिवजन्तुको मृत्यु हुने , हरिया रुखहरु समेत मर्ने समेत हुनसक्छ । भौतिक संरचनाहरुमा चट्याङ परेमा आगलागी हुने , विद्युत , टेलिफोन लगायतका पोल तथा स्टेशन समेत चट्याङको बढि जोखिममा हुन्छन् । चट्याङबाट बच्नको लागि : · पानी परेको वा गर्जिएको बेला घर बाहिर ननिस्किने · यस्तो बेला ठूला रुख , विजुलीका तार , पोल तथा ट्रान्समिटरको तर नबस्ने · घर बाहिर भए कुनै सुरक्षित ठाउँ वा ओडारमा बस्ने · विजुलीको राम्रोसँग अर्थिङ गर्ने · भवन तथा अरु अग्ला संरचनामा चट्याङ पर्न नदिन त्यस्ता संरचनाको सबैभन्दा माथिल्लो भागमा धातुजन्य एन्टेना राखी त्यसमा तार जोडेर जमिनमा लगेर र गाड्नुपर्छ जसका कारण त्यस क्षेत्रमा चट्याङको बेला विद्युतिय चार्ज आएमा तार हुँदै पृथ्वी सम्म पुग्छ र क्षति गर्न पाउँदैन । चट्याङ एक प्राकृतिक प्रक्रियाको उपज हो । यसलाई रोक्न सकिन्न तर सावधानी अपनाउने हो भने यसले पुराउने क्षति केही मात्रामा रोक्न सकिन्छ । चट्याङ पर्दा वा आकाश गर्जिँदा डराउने , आत्तिने नगरी केही विपत्ति आइहालेमा कसरी जोगिने भन्नेबारेमा पुर्वतयारी गर्नुपर्छ ।

विजुली चम्किँदा वा आकाश गर्जिँदा कुनैपनि बेला चट्याङ पर्नसक्छ भनेर सचेत हुनुपर्छ । यद्यपि चट्याङ मात्र होइन सबै प्रकारका प्राकृतिक प्रकोपमा दृष्टिले नेपाल विश्वमै निकै जोखिम पूर्ण मूलुक मध्येमा पर्छ । भौगोलिक रुपमा जटिल तथा कमजोर भूबनोट र भौगर्भिक रुपमा पनि तिब्बती र भारतिय थालीको बीचमा पर्ने भएकाले नेपाल विभिन्न दैवी प्रकोपको चपेटामा परिरहन्छ । विश्वबैंकको तथ्यांकलाई आधार मान्ने हो भने पनि नेपाल जलवायु परिवर्तन जन्य प्रकोपको दृष्टिले विश्वकै छैटौँ जोखिमपूर्ण मूलकमा पर्छ । त्यस्तै वषर्ाजन्य प्रकोपको दृष्टिले ३० औँ तथा भुकम्पिय जोखिमको दृष्टिले ११ औँ स्थानमा पर्छ । नेपालका ९० प्रतिशत मानिस कुनै न कुनै प्राकृतिक प्रकोपको जोखिममा बाध्य छन् , जसले वर्षेनी कम्तिमा दुइवटा प्राकृतिक प्रकोपको सामना गर्नुपरिरहेकेा छ । त्यसकारण पनि हामी सबै प्रकारका प्राकृतिक प्रकोपको क्षति न्युनिकरण तथा विपद व्यवस्थापनमा पुर्वतयारी गर्नैपर्छ । कुलचन्द्र अर्याल – See more at: http://www.onlinekhabar.com/2013/06/88306/#sthash.mcUVy56Z.dpuf

कमेन्टहरु
Loading...