बोलबममा गाउँगाउँबाट

पोखरा, २१ साउन/पोखराको केदारेश्वर मन्दिरमा डेढ दशकदेखि सुरु बोलबम जलयात्रा कार्यक्रमअन्तर्गत यस वर्षको साउनमा पनि भक्तजनको उत्साहजनक भीड लागेको छ । जारी १५ औं संस्करणमा गाउँ गाउँबाट भक्तजन केदारेश्वर मन्दिर दर्शनार्थ आएका छन् ।

साउनको तेस्रो सोमबार मन्दिर परिसरमा भक्तजनको घुइँचोले आयोजकलाई व्यवस्थापनमा हम्मे–हम्मे परेको थियो । केटाकेटी, युवायुती र वृद्धवृद्धा भगवान् शिवको दर्शनका लागि हातमा जल बोकेर लामो समयदेखि पालो कुरेर बसेका थिए । पूजाआजामा सहजता लागि आयोजक केदारेश्वर महादेवमणि सेवाश्रम समितिले मन्दिरका चारैदिशाका ढोका बिहानैदेखि खुलाएको थियो ।

गाउँगाउँबाट समेत भक्तजन दर्शनका लागि आएको मन्दिरका पीठाधीश डा. लेखनाथ आचार्यले जानकारी दिए । मन्दिरका अलावा सेती नदीबाट जल उठाउन बगरस्थित गाईघाटमा पनि भक्तजनको उस्तै घुइँचो थियो । साउन महिना भगवान् शिवको पूजाआराधना गरे मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ ।

बोेलबममा आउने भक्तजनलाई भजनकीर्तनले समेत उत्तिकै मोहित पार्ने गरेको छ । यस श्रृंखलामा पनि बोलबम भजन समूह, अन्नपूर्ण भजन समूह, दैवीशक्ति खोज तथा अनुसन्धान केन्द्रसहित हेमजाको देवीस्थान भजन समूह, हरिकीर्तन भजन समूह, घाचोक, आर्वा, घार्मीको भजन समूहले भजन कीर्तन गाएको थियो । यसैगरी, शिव–पार्वती भेषमा ११ जोडी पनि बोलबममा संलग्न रहेको बोलबम संयोजक शंकर खरालले जानकारी दिए ।

बोलबम ¥यालीमा सहभागीलाई सहजताका लागि नगरका विभिन्न ठाउँमा पानी, सर्वत, दही, जुस दिएर सहयोग गर्नेहरु पनि उत्तिकै भेटिन्थे । मन्दिर परिसरमा बलदेव दाहालको समूह, तेर्सापट्टीमा राजभण्डारी ट्रान्सफर्मर, पालिखेचोकमा रोटरी क्लब, सिर्जनाचोकमा सिर्जनाचोक व्यवसायी समिति लगायतले सर्वत पानी तथा दही खुवाएका थिए । मन्दिरमा सदाझै भक्तजनलाई प्रसादको व्यवस्था थियो । यसपालि मारबाडी समाजले निःशुल्क रुपमा प्रसाद व्यवस्था गरेको थियो । अब साउनको चौथो तथा अन्तिम सोमबार २८ गते परेको छ ।

कमेन्टहरु
Loading...