हिमालय क्लबको रक्तदानमा ९० यूनिट रगत संकलन

पुस, पोखरा/ उद्यौली पर्व र तमु ल्होसारको अवसरमा पोखरा १६ बाटुलेचौर स्थित हिमालय क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा ९० युनिट रगत संकलन भएको छ । वार्षिक कार्यक्रम अन्र्तगत आयोजित रक्तदान सहितको सांस्कृतिक कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पश्चिमाञ्चल चल क्षेत्रीय अस्पताल पोखराका मेडिकल सुपरिटेन्डेण्ट डा. वुद्धिवहादुर थापाले पहिलो रक्तादाता क्लबका सल्लाहकार राम बहादुर बानियाँलाई ब्लड ब्याग हस्तान्तरण गरी गर्नुभयो ।रक्तदान तथा चियापान कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै एमालेका युवा नेता रविन्द्र अधिकारीले नेपाल विविध संस्कृतिले भरिपूर्ण मुलुक भएपनि राष्ट्रियताको सवालमा एकजुट हुनुपर्ने वताउनुभयो । नेपाली काँगे्रसका जिल्ला सभापति यज्ञ वहादुर थापाले हिमालय क्लवले गरेको कार्य सराहनीय रहेको भन्दै निरन्तरताको कामना गर्नुभयो । नेकपा एमाले कास्कीका अध्यक्ष मान वहादुर जिसीले धार्मिक सद्भाव कायम गर्दै आएको हाम्रो समाज असमानताको वीचमा पनि समानता जुटाउन सक्षम हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, पृथ्वीनारायण क्याम्पसका प्रमुख गेहेन्देश्वर कोइराला, क्लवका अध्यक्ष जीवनारायण श्रेष्ठ, मानार्थ सदस्य वेनी वहादुर वस्नेत, सल्लाहकार उदयबहादुर बस्नेत लगायतले ल्होसार पर्वको शुभकामना व्इक्त गर्दै चाडपर्वका माध्यमबाट राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वाटुलेचौर तमु समाज र किराँत सेवा समिती कास्कीले विभिन्न बाजागाजा र झाँकी सहित नृत्य प्रस्तुत गरेका थिए । शुक्ला साहित्य समाज वाटुलेचौरले भजन रोइला प्रस्तुत गरेको थियो । पोखरा एकेडेमीका विद्यार्थीबाट मंगलधुन प्रस्तुत गरिएको थियो । स्थानीय नवोदित कलाकारहरुले पनि गायन तथा नृत्य प्रस्तुत गरेका थिए । गायीका जुना क्षेत्री, सुकु हिराचन, चन्द्रा कार्की, प्रतिक्षा देवकोटा, जंगबहादुर परियार, प्रकाश नेपाली लगायतले गीत गाएका थिए भने देवी विकले नृत्य प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमकै अवसरमा विभिन्न सहयोगीहरुलाई सम्मान गरिएको थियो । रक्तदान तथा चियापान कार्यक्रम संयोजक वसन्त वहादुर वस्नेतको अध्यक्षता र हिमालय क्लवका सचिव मोहन थापाको संचालनमा सम्पन्न कार्यक्रममा उल्लेख्य जनसहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...