विश्वशान्तिमा वैशाख ५ देखि १३ सम्म श्रीमदभावत् महायज्ञ

पोखरा, ५ वैशाख /समय अनुकूल गुणस्तरीय शिक्षा तथा प्राविधिक शिक्षालाई व्यवस्थित गर्ने उद्देश्यले रुपा ५ देउरालीमा अवस्थित विश्व शान्ति माध्यमिक विदालयले २०७६ वैशाख ५ देखि १३ गतेसम्म महायज्ञ गर्ने भएको छ । विद्यालयको भैतिक तथा शैक्षिक सुधारको निम्ति श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको तयारी पूरा भएको बुधवार महायज्ञ स्थल विद्यालय प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गरेर महायज्ञ मूल आयोजक समितिले जानकारी गराएको छ ।

महयज्ञबाट अनुमानित १ करोड १५ लाख नगद चन्दा सङ्कलन हुने अपेक्षा सहित सो रकम विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासमा खर्च गरिने मूल आयोजक समिति तथा व्यवस्थापन समितिका अध्यक्ष दामोदर घिमिरेले बताए ।

महायज्ञ सफल पार्न विभिन्न १९ वटा समिति तथा उपसमिति बनाएर कार्यविभाजन सहित प्रचारप्रसारलाई तीव्र पारिएको विद्यालयका प्रधानाध्यापक वसन्त पहारीले जनाए । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै जानुको पछाडि यातयात सुविधाको कारण भएको महसुस गर्दै महायज्ञबाट संकलित रकमबाट दुई वटा बस खरिद गरी विद्यार्थीलाई आवत जावतमा सहज बनाउने लक्ष्य रहेको उनले बताए । विद्यालयको भौतिक तथा पूर्वाधार निर्माण गर्ने, पुस्तकालय व्यवस्थित गर्ने, विज्ञान प्रयोगशालाको स्तरोन्नति गर्ने, विद्यालयका संस्थापक ओमकारराज घिमिरेको स्मृतिमा सालिक निर्माण गर्ने कम्युटर प्रविधियुक्त गुणस्तरीय शिक्षालाई प्रभाकारी बनाउने लक्ष्य राखेको विद्यालयले सो पत्रकार सम्मेलनमा जानकारी दिएकोे छ ।

महायज्ञ उद्घाटन अघि विभिन्न झाँकी प्रदर्शन, बाजागाजा, कलशयात्रा,आमसमूह, क्लव, स्थानीय संघसंस्था तथा यसका प्रतिनिधिहरुले महयज्ञस्थलमा सक्रिय सहभागिता जनाउने अयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । महायज्ञको वाचन आचार्य गुरुदेव रामचन्द्र तिमिल्सिना र हरिचन्द्र तिमिल्सिनाले गर्ने सो अवसरमा जानकारी दिइयो ।

नेपाल सरकार सूचना तथा प्रविधि मन्त्रालयबाट प्रत्येक प्रदेशमा स्मार्ट विद्यालयका रुपमा प्रविधियुक्त आधुनिक शिक्षा प्रदान गर्ने विद्यालयका रुपमा यस विद्यालय प्रदेश न ४ बाट छनोट भएको सो अवसरमा जानकारी दिइयो । विद्यालयमामा २ वटा अत्याधुनिक कम्प्युटर ल्याब र १६ वटा सिसि क्यामेरा जडान हुने विद्यालयले जनाएको छ । स्मार्ट विद्यालयमा छनोट भएको विद्यालयका प्रत्येक कक्षा कोेठामा कम्प्युटर, मल्टिमिडिया प्रोजेक्टर र स्मार्ट वोर्डको व्यवस्था गरी प्रविधियुक्त शिक्षा प्रदान गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

२०२२ सालमा स्थापना भएको विद्यालयले यसै वर्ष पुस २ गते स्वर्ण महोत्सव आयोजना गर्ने विद्यालयले जनाएको छ । विद्यालयमा शैक्षिक वर्ष २०७५ देखि ३ वर्षे डिप्लोमा सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन भएको छ । विद्यालयमा व्यस्थित छात्रावस निर्माण गर्ने, अन्य भौतिक तथा शैक्षिक सुधारका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने उद्धेश्यले महायज्ञको आयोजना गरिएको सो अवसरमा जानकारी दिइयो ।

२०६५ सालमा कास्कीकै सामुदायिक तर्फबाट उत्कष्ट विद्यालयका रुपमा जिल्ला शिक्षाबाट पुरस्कृत विद्यालयले सोही वर्षदेखि नै कक्षा १ देखि १० सम्म कम्पयुटर शिक्षा पठनपाठन सञ्चालन गर्दै आइरहेको छ । २०५४ सालदेखि कक्षा ११ र १२ मा मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकायमा पढाइ सञ्चालन भएको विद्यालयले यसवर्ष भर्ना अभियानमा रुपा गाउँपालिकाभित्र घरदैलो अभियोन र प्रचारप्रसारलाई अघि बढाइएर विद्यालयको भावी कार्यक्रमका बारेमा जानकारी दिएको विद्यालयका पूर्व प्रअ रामलाल श्रेष्ठले जानकारी दिए ।

विद्यालमा निजीस्रोतबाट १४ जना शिक्षक शिक्षिका रहेका छन् । कक्षा १ देखि १० सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन भएको विद्यालयमा ३ सय १८ जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर घिमिरेको अध्यक्षतमा भएको कार्यक्रममा प्रचारप्रसार समितिका प्रज्वल पगेनी, साहित्यकार तथा सोही विद्यालयका पूर्व विद्यार्थी प्रकट पगेनी शिवले मन्तव्य राखेका थिए । कार्यक्रम शिक्षिका निर्मला केसीले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...