नेदरल्याण्डको एफसी ट्वाण्टेद्वारा बिमल घर्तीमगलाई ५ दिनभित्र आउन आग्रह, अन्यथा नकुर्ने, एन्फा भने मौन !

विश्वमै फूटबल खेलमा ठूलो फड्को मारिसकेको नेदरल्याण्ड (हल्याण्ड) को फूटबल क्लब एफसी ट्वाण्टेले नेपाल यू–१६ टिमका कप्तान एवं नेपाली राष्ट्रिय टिमका युवा स्ट्राईकर विमल घर्ती मगरलाई निम्तो दिएपनि मगरलाई पठाउन ढिलाई गर्दा ठूलो अवसर नै गुम्ने सम्भावना बढेको छ । किनकि, एफसी ट्वाण्टेले आधिकारीक रुपमा पाँच दिनभित्र विमल घर्तीमगरलाई नेदरल्याण्ड पुग्न आग्रह गरेको छ ।bimalएक हप्ते ट्रायलका लागि जति सक्दो चाँडो आफूहरुले विमललाई देख्न चाहेको भन्दै एफसी ट्वाण्टेका प्लेयर गाईडेन्स हेड बस सेक्रेयुर्सले क्लबका तर्फबाट बिमललाई यसै साताभित्र आउन पत्राचार गरेको छ । तर, दुःखको कुरा विमल अहिले सिक्कममा जारी ३४ औं अल ईण्डिया गभर्नर्स गोल्ड कप फूटबल प्रतियोगिता खेलिरहेका छन् । बिमल नेपाल यू–१६ टिमको बन्द क्याम्पमा छन् । यस विषयमा गम्भीर भएर विमललाई नेदरल्याण्ड पठाउन भूमिका खेल्नु एन्फाको दायित्व हो ।
“धेरै मुलुकका धेरै खेलाडीहरु ट्रायलमा सहभागी हुँदैछन् । हामी विमललाई दिएको समय लम्बाउन सक्दैनौं ।” क्लबले भनेको छ । साथै उसले बिमल नेदरल्याण्ड आउने नआउने बारेमा स्पष्ट जानकारी दिन समेत आग्रह गरेको छ । बिमललाई गरिएको आमन्त्रणका सन्दर्भमा नेपालको फूटबलको सर्वोच्च निकाय एन्फाले केहि बोलेको छैन । यद्यपी, नेपाल यू–१६ टिमका प्रशिक्षक बालगोपाल महर्जनले भने यस अवस्थामा आफू पूर्ण सचेत रहेको प्रतिक्रिया दिएका छन् । एन्फाको ढिलाईप्रति नेपाली फूटबलका समर्थकहरु अहिले एन्फा र एन्फा अध्यक्ष गणेश थापाको कार्यशैलीप्रति खुलेर विरोधमा उत्रिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनीहरुले तत्काल विमल घर्ती मगरको भिसा प्रक्रिया मिलाएर नेदरल्याण्ड पठाउन आग्रह गर्दै अन्यथा सडकमा उत्रने चेतावनी समेत दिएका छन् । यस विषयको समाचार गोलनेपाल डटकमले अनलाईन प्रसारण गरेपछि गोलनेपाल डटकमको आधिकारीक अंग्रेजी संस्करणको फ्यानपेजमा एन्फाप्रति विरोधका प्रतिक्रियाहरु प्राप्त भईरहेका छन् । नेपाली फूटबल खेलाडीलाई यूरोपियन मुलुकले चासो देखाउन थालेका बेला खेलाडी र समस्त नेपाली दर्शक निराश नपारी सहयोग गर्न समस्त फूटबल प्रेमीले एन्फा र अध्यक्ष गणेश थापाकै नाममा प्रतिक्रियाहरु दिएका छन् ।
१५ वर्षीय स्ट्राईकर विमलले राष्ट्रिय टिमबाट डेब्यु म्याचमै गोल गर्दै दक्षिण एशियाली राष्ट्रमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा कम उमेरमा गोल गर्ने किर्तिमानी कायम गरिसकेका छन् । दुई महिना अघि सम्पन्न साफ च्याम्पियनशीपमा उनले वैकल्पिक खेलाडीका रुपमा रहेर पनि नेपाली टिममा रहेर उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।
नेदरल्याण्डमा ट्रायल नोभेम्वर १० देखि सुरु भईसकेको छ भने डिसेम्वर अन्त्यसम्म जारी रहनेछ । पहिलो साताको ट्रायल हेरेर क्लबका प्रशिक्षक सन्तुष्ट भए डिसेम्बर ७ सम्ममा ट्रायलका लागि मौका दिईने पत्रमा उल्लेख छ । प्रशिक्षक सन्तुष्ट नभएमा भने उनि पहिलो सातापछि नै घर फर्कने उसले स्पष्ट पारेको छ । ट्रायलका लागि हवाई टिकट, बस्न, खान लाग्ने सबै खर्च क्लबले नै ब्यहोर्ने नै उसले पत्रमा प्रस्ट उल्लेख गरेको छ ।
“यो विमल घर्ती मगरका लागि सुन्दर मौका हो । यदि एन्फाले सहयोग गरेमा उनले चाँडो भिषा प्राप्त गरेर नेदरल्याण्ड जानेछन् । उनी सुपरस्टार बन्न सक्नेछन् ।” यस प्रोजेक्टमा संलग्न एजेन्ट स्रोतले गोलनेपाल डटकमलाई भन्यो “एन्फालाई यसबारे राम्ररी जानकारी गराएका छौं ।”

कमेन्टहरु
Loading...