चितुवाको आक्रमणबाट मृत्यु बालकका परिवारलाई प्रदेश सरकारको सहयोग

पोखरा, २८ असार /चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँको भानु नगरपालिका वडा नम्बर ३ स्थित तिनकुने टोलका ६ बर्षीय बालक बिशाल श्रेष्ठका परिवारलाई सरकारले आर्थिक सहयोग गरेको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बुधवार गाँउमै पुगेर मृतक बालकका बुवा विरेन्द्र श्रेष्ठ र आमा रुपा श्रेष्ठलाई १० लाख रुपैयाँ हस्तान्तरण गरे ।

पछिल्लो समय मानव र वन्य जन्तुको द्धन्द्ध चरम रुपमा बढ्दै जान थालेको र यस समस्याको निर्मुल पार्ने कार्यलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बहन क्षमताका आधारमा व्यवस्थापन, राहत वितरणमा प्रभावकारिता र समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापनमा प्रभावकारिता ल्याइने उनको भनाई थियो । मन्त्री लम्सालले संरक्षण शिक्षाको विस्तार, सुरक्षित तारबार, पूर्वसूचना दिने प्रणालीको विकास, प्रदेशमा वन्यजन्तु उद्धार केन्द्रको स्थापना, प्राणी उद्यान केन्द्र लगाएतको नीति सरकारले ल्याउने बताए ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिब डा.बुद्धी सागर पौडेलले मृतकका परिवारलाई तत्काल राहात स्वरुपको रकम दिने पहल थालेपनि प्रक्रिया लामो हुन पुग्दा ४ महिना ढिला हुन पुगेको बताए । सोही अवसरमा भानु नगरपालिकाले वालकका परिवारलाई २५ हजार रुपैया सहयोग गरेको छ । नगरपालिकाको तर्फ बाट २५ हजार रकम प्रदान गर्दै मेयर उदयराज गौरीले मृतक विशालका भाईलाई कक्षा १० सम्म अध्ययन गर्दा लाग्ने रकम सबै आफुले व्यक्तिगत व्योहोर्ने उद्घोष गरे ।

गत फागुन १ गते शिवरात्रीको दिन मामाघर जादै गरेका बालक श्रेष्ठलाई चितुवाले साझ ६ बजे आक्रमण गरेको थियो । बालकलाई खोज्ने क्रममा गाँउलेले आक्रमण गरेको स्थान देखी २ सय मिटर तल जंगलमा लगेर बालकलाई चितुवाले खाएको अवस्थामा फेला पारेका थिए ।

कमेन्टहरु
Loading...