चीन घेर्ने रणनीति अनुसार बैदेशिक चलखेल : वैद्य

११ फागुन, काठमाण्डौ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले चीनलाई घेर्ने रणनीति अनुसार नेपालमा बैदेशिक चलखेल बढेको दावी गर्नुभएको छ । वैद्यले साम्राज्यवादी र विस्तारवादी योजना अनुसार नेपालमा राजनीतिक अस्थिरता निम्तिएकाले मुलुक सर्बाधिक अप्ठेरो स्थितिमा पुगेको वताउनुभयो ।

अखिल नेपाल लेखक संघले शुक्रवार राजधानीको सम्वाद डवलीमा डा. राजन पोखरेलद्वारा लिखित पुस्तक परिचर्चा तथा हस्तान्तरण कार्यक्रममा वैद्यले भन्नुभयो,’एउटा संसदीय ब्यवस्था पुरै असफल हुँदैछ । दलभन्दा निर्दल रोज्न खोज्नुले पनि प्रमाणित हुन्छ । यति ठूलो शहादत प्राप्त गरी आउँदा पनि जनताको जनवाद आउन सकेको छैन ।’
वैद्यले प्रतिक्रियावादीहरुले मुलुकमा निरंकुशता, निर्दलीयता र फासिवादीको अभ्यास गर्न खोजेकाले आफूहरुले गोलमेच सभाबाट मुलुकलाई निकास दिन प्रस्ताव गरेको वताउनुभयो ।

नेपालको राजनीति नेपथ्यवाट चलिरहेको दावी गर्दै बैद्यले भन्नुभयो, ‘सबै चिज नाङ्गै तरिकाले आएका छन् । काँग्रेस र एमालेका नेताहरु पनि अचम्म परेको देख्छौँ । त्यहाँ पनि एकमत छैनन् ।’ वैद्यले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गरी चुनावमा जाने प्रचण्डको सुत्र पनि नेपालको राष्ट्रिय अस्मिता निमिट्यानन पार्ने अभ्यासको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,’व्यवस्थापिका नभएको बेला कार्यपालिका र न्यायपालिका एकै ब्यक्तिमा हुने कुरा स्वीकार गर्न लायक छैन ।’

कमेन्टहरु
Loading...