बर्दीयाका बाढीपीडितलाई लेखनाथवासीकोे सहयोग

पोखरा, १३ भदौ / पोखरा लेखनाथ महानगरपालिका अन्तर्गतका २९, ३० र ३२ नं वडामा कृयाशिल विभिन्न संघ संस्थाको सकृयतामा आज बर्दियाको ठाकुरबाबा नगरपालिकाका दुई वटा वडामा बाढीपीडितलाई राहत सामाग्री प्रदान गरिएको छ ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ सुन्दरपुर गाउँ र वडा नम्बर ८ ठाकुरद्वारा गाउँका ३२ घर परीवारका पुर्ण क्षतिग्रस्त बाढीपीडितलाई चामल, दाल, तेल, नुन लगाएतका खाद्य सामाग्री सहित कम्मल र झुल वितरण गरिएको राधाकृष्ण बृद्धाश्रम समितिका अध्यक्ष मीनबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य ८ जनाको राहत सामाग्री वडा कार्यालयमा बुझाइएको छ । राधाकृष्ण वृद्धाश्रम समिती सहित सम्झौता आमा समुह र गुरुकुल विद्यालयका विद्यार्थीका साथै महानगरपालिका वडा नम्बर २९, ३० र ३२ का समाजसेवीको विशेष पहलमा बाढीपीडितका लागि संकलन गरिएको रकमबाट राहत वितरण गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।
ठाकुरबाबा नगरपालिकाका उपमेयर कृष्णा कुस्मा थारु सहित स्थानीय जनप्रतिनिधी, रेडक्रस, प्रहरी र संचारकर्मीको उपस्थितिमा राहत वितरण गरिएको हो ।

सञ्चारमाध्यममा बर्दियामा बाढीले क्षती गरेको भन्ने खबरले गर्दा लेखनाथ महानगरपालिका समाजसेवी र राधाकृष्ण वृद्धाश्रम समिति सहितको १४ जनाको टोलीले राहत संकलन गरी बर्दियाका गाउँमा बाढिपीडितलाई राहत वितरण गर्न आएको समितिका प्रेम लिगलले बताउनुभयो ।

“बाढीपीडितलाई सहयोग गरे धर्म हुन्छ, आत्मीयता बढछ, भन्ने उद्देश्यले ठूलो मन गरी सानो सहयोग गर्न हामी यहाँ आएका हौँ,” सम्झौता आमा समूहकी साबित्रा पौडेलले भन्नुभयो, “वास्तविक पीडितले राहत सामग्री पाएका छन्, पूर्ण क्षति भएकालाई राहत समाग्री वितरण गर्ने प्रकृया पनि निक्कै राम्रो भएको हाम्रो अनुभव रह्यो ।”

बाढीपीडितलाई त्यति टाढाबाट राहत सामाग्री लिएर आफ्नो नगरपालिकामा वितरण गरेको भन्दै ठाकुरबाबा नगरपालिकाका उपमेयर कृष्णा कुस्मा थारु आभार प्रकट गर्नुभयो ।  ठाकुरबाबा नगरपालिका सहित विभिन्न संघसंस्थाको सहयोगमा पूर्ण क्षति भएकालाई राहत सामाग्री वितरण भईरहेपनि आंशिक क्षति भएकालाई राहत सामाग्री वितरण गर्न नसकेको भन्दै उहाँले आंशिक क्षति भएका पीडितका लागि पनि पहल भईरहेको जानकारी दिनुभयो ।

 

कमेन्टहरु
Loading...