अपहरण गरेको तेस्रो दिनमै व्यवसायी श्रेष्ठको हत्या

दाङ, १७ असार /अपहरण गरेको तीन दिनमै तुल्सीपुर उपमहानगरपालिका–५ का व्यवसायी राजकुमार श्रेष्ठको हत्या भएको खुलासा भएको छ । गत २६ जेठको राति अपहरणमा परेका उनको हत्यामा संलग्नमध्ये केही अभियुक्त पक्राउ परेसँगै यस्तो तथ्य खुलेको हो । आजको नयाँ पत्रिका दैनिकमा भूपेन्द्र वलीले खबर लेखेका छन् ।

हत्याका अभियुक्तले दिएको सूचनाका आधारमा २१ दिनपछि शुक्रबार मात्र श्रेष्ठको शव सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पे रेन्जको जंगलमा फेला परेको थियो । प्रहरीले अभियुक्त पक्राउ परेको केही दिनअघिसम्म पनि श्रेष्ठको खोजीकार्य जारी रहेको बताउँदै आएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसमेत दाङमै खटेर घटनाको अनुसन्धान गरिरहेको थियो । प्रहरीले अपहरणकारीको स्केच सार्वजनिक गर्दै अपहरित व्यवसायी र अपहरणकारीबारे सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो । शुक्रबार हेलिकोप्टरमार्फत श्रेष्ठको शव सल्यानबाट दाङ ल्याइएको थियो ।

व्यवसायी श्रेष्ठलाई अपहरण गर्न तुल्सीपुर–६ बस्ने ४० वर्षीय टीकाराम घर्तीले आफ्नै १७ वर्षीया छोरी पूजा घर्तीलाई प्रयोग गरेको खुल्न आएको छ । पूजाले नै श्रेष्ठलाई फोन गरी सल्यानसम्म लगेको खुल्न आएको छ । तुल्सीपुरबाट दुवैजना श्रेष्ठकै बा११च १०७१ नम्बरको कारमा सल्यानको कपुरकोट गाउँपालिका–५ मेलखोलासम्म पुगेका थिए । त्यसपछि अपहरणमा संलग्न व्यक्तिहरूले कार तोडफोड गरी श्रेष्ठलाई पैदल हिँडाएको प्रहरीले जनाएको छ ।

अपहरणपछि श्रेष्ठलाई लगातार तीन दिन हिँडाएर सल्यान पुर्याइएको थियो । ‘लगातार हिँडाएपछि मोटो शरीर र डाइबिटिजका बिरामी श्रेष्ठ ढले, उनलाई खानासमेत दिइएन,’ दाङ जिल्ला प्रहरी प्रमुख धीरजप्रताप सिंहले भने, ‘अपहरणकारीले श्रेष्ठको उपचार गराउन सक्ने अवस्था देखेनन्, बोकेर लैजान पनि नसक्ने र ढिला हुँदा सूचना लिक हुने डरले हत्या गरिएको खुल्न आएको छ ।’ श्रेष्ठको कार पुग्नुअगावै भारतीय नम्बर प्लेटको कारमा रहेका रणबहादुर घर्ती सो स्थानमा पुगेको र अपहरणकारीले भारतीय नागरिकलाई छाडेर घर्तीलाई अपहरण गरेको प्रहरीले जनाएको छ । घर्ती फरार रहनुले उनीप्रति आशंका गर्न सक्ने ठाउँ रहेको प्रहरीले बताएको छ ।

कसले गर्यो अपहरण 
अपहरण र हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा जंकोट–१ घर भई घोराही–४ बस्ने मनबहादुर पुन, तुल्सीपुर–६ बस्ने रुगत थापामगर, तुल्सीपुर–१२ का अविरल महतरा र घोराही–१४ नयाँ बजारकी जमा पुन छन् । यसैगरी, सल्यान झिम्पे–४ का मानबहादुर भण्डारी, तुल्सीपुर–६ की पूजा घर्तीमगर र उनका बाबु टीकाराम घर्ती भने फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका र फरार रहेकामध्ये केही जेल बसेको र आपराधिक पृष्ठभूमि भएको प्रहरी प्रमुख सिंहले बताए ।

 

कमेन्टहरु
Loading...