छैटो दिन पनि अनसन जारी विदेशी पर्यटक पनि अनसनमा

पोखरा,१२ भदौ / अनुभव र सहभागिताको त कुरै छाडौँ, उनीहरुले यस्तो आन्दोलन देख्न र सुन्न पनि पाएकै थिएनन् । बेलायत र जर्मनजस्तो विकसित मुलुकका उनीहरुले तेस्रो विश्वमा दैनिकजसो हुने यस्तो विरोधबारे थाहा नपाउनु अस्वभाविक पनि हैन । बेलायत र जर्मनबाट पोखरा घुम्न आएका पर्यटकलाई पनि यस्तै भयो ।

लामो हवाइयात्रा तय गरी पोखरा आएका विदेशीहरुले विमानस्थल माग्दै गरिएको ‘रिले अनसन’ ले भने साँच्चिकै छोयो । अनि त के थियो ? उनीहरुले आन्दोलनलाई नैतिक समर्थन मात्र गरेनन्, अनसनमै सहभागिता जनाए ।

बेलायतका ओलिभर स्ट्रविक, जोसेफ विलभेर, लिलियन एभनास, डग्लस भेग्लागन तथा जर्मनका लिना हायर र साइमन वेनार्डले विमानस्थल निर्माणको लागि पोखरामा जारी आन्दोलनमा ऐक्यवद्धता जनाउँदै मंगलबार असनस बसेका हुन् । उनीहरु दिउसो १ बजेदेखि २ बजेसम्म अनसन बसे र विमानस्थलको पोखरेली सपनामा सहमति जनाए । ‘विमानस्थल पोखराको लागि महत्वपूर्ण छ र विमानस्थल बनेपछि काठमाण्डौं मात्र उड्नुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

राज्यलाई जनताबाट कर आउँछ र कर आउनको लागि यहाँको अर्थतन्त्र माथि जानुपर्छ ।’– १८ वर्षदेखि नेपाल बस्दै आएका बेलायती नागरिक डग्लसले भने,‘त्यसको लागि सरकारले पूर्वाधार निर्माण गने बताए । उनले थाइल्याण्डको फुकेट टापु पोखराभन्दा सानो भए पनि प्रसिद्ध पर्यटकीय गन्तब्य बनेको उल्लेख गर्दै हवाई यातायातको विकासले पोखरालाई पनि संसारकै प्रमुख गन्तब्य बनाउन सकिने धारणा राखे ।

राम्रो नेपाली बोल्ने उनले विमानस्थल निर्माणको लागि राजनीतिक प्रतिवद्धता आउनुपर्नेमा जोड पनि दिए । स्न १९७० तिर बेलायतमा मजदूरहरुले अधिकार माग्दै आन्दोलन गरे पनि अनसन जस्तो कार्यक्रम बेलायतमा नयाँ भएको उनको भनाइ थियो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिका संयोजक कृष्णमोहन श्रेष्ठले विदेशी पर्यटकले आन्दोलनप्रति देखाएको सद्भाव र समर्थनको लागि धन्यवाद ज्ञापन गर्दै यसले सरोकार समितिको आत्मबल बढाएको प्रतिक्रिया दिए ।

कमेन्टहरु
Loading...