‘पोखरामा विमानस्थल नबन्दा पर्यटनमा नकारात्मक असर’ गाँठो फुकाउन मन्त्रालय प्रयासरत ः मन्त्री बोगटी

काठमाडौं, २० पुस/पर्यटन मन्त्री पोष्टबहादुर बोगटीले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएको अल्झनलाई फुकाउन मन्त्रालय लागिपरेको बताउनुभएको छ ।‘विमानस्थल निर्माणको प्रक्रिया तत्कालका लागि रोकिएको छ,’ उहाँले भन्नुभयो, ‘गाँठाहरुलाई फुकाएर निर्माण प्रक्रिया अगाडि बढाउन मन्त्रालयले प्राथमिकता दिएको छ ।’

नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेट्स (नाट्टा)को ४९ औं वार्षिक साधारणसभाको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री बोगटीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा पोखरा र बुटवलमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई विशेष महत्व दिएको बताउनु भयो ।

चीनको एक्जिम बैंकको सहयोगमा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको बेलामा भएको बहानाबाजी र केही कानुनी जटिलताका कारणले त्ससले मूर्त रुप पाउन सकेको छैन । २०३१ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहरण गरिएको थियो ।

राजनीतिक अस्थिरताले पर्यटनको पूर्वाधार विकास हुन नसकेको स्वीकार्दै मन्त्री बोगटीले पर्यटन आर्थिक क्षेत्रको महत्वपूर्ण पाटो रहेको बताउनुभयो । ‘देशमा रहेका विमानस्थलहरुको स्तरोन्नति गर्न मन्त्रालयले योजना बनाएको छ,’ उहाँले भन्नुभयो, ‘पर्यटनको विकासको लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले सार्वजनिक निजी साझेदारी अनुरुप काम गर्नु जरुरी छ ।’

कार्यक्रममा नाट्टाका केन्द्रीय अध्यक्ष पवित्राकुमार कार्कीले पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काममा विलम्ब हँुदा पर्यटन क्षेत्रमा नकारात्मक असर परेको बताउनुभयो । ‘पर्यटन क्षेत्रमा आवश्यक पूर्वाधारमा सरकारले ध्यान नदिँदा सोचेअनुरुप पर्यटक भित्र्याउन सकिएको छैन,’ उहाँले भन्नुभयो, ‘यातायात व्यवसायीको सिन्डिकेट, त्रिभुवन विमानस्थलको विकल्प नहँुदा पर्यटक आगमनमा प्रत्यक्ष असर पारेको छ, सरकारले यसलाई गम्भीर रुपमा लिनुपर्छ ।’

पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा भएको ढिलाइ, वोर्ड गठनमा निजी क्षेत्रको समुचित प्रतिनिधित्व, राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगम जहाजविहीन हुने अवस्था लगायतबारे कार्कीले सरकारको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले पर्यटनको विकासका लागि निजी क्षेत्रले विशेष महत्व दिएको बताउँदै सरकारले पर्यटनमैत्री नीति नियम बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सिल्भर ट्र्यांगलको रुपमा रहेको पोखरा—भैरहवा र चितवनसम्म पर्यटकको सिधा यातायाता सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । श्रीलंका पर्यटन विकास प्राधिकरणका अध्यक्ष भास्वोरसेनाका गुनारत्नेले श्रीलंकामा भएको पर्यटन विकासबारे चर्चा गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...