तेस्रो दिन पनि आन्दोलन जारी

पोखरा, ९ भदौ /पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग गर्दै नागरिक दबाब समूहले पोखरा विमानस्थल अगाडि सुरु गरेको अनिश्चितकालिन रिले अनसन तेस्रो दिन पनि जारी छ । बिहान आठ बजेबाट तेस्रो दिनको रिले अनसन सुरु भएको हो ।

रिले अनसनमा विभिन्न जातीय सगठनका नेताहरु अनसनमा बसेका छन् । अनसनमा पान बहादुरन घर्ती, पुर्ण राना मगर, राजकुमारी भुजेल, हरिमान तामाङ, कुमार खड्का पुष्पा केसी भण्डारी, पदम बहादुर कार्की, माया बराल, रोम बहादुर केसी, धर्म तमु र सुभाष ढुङ्गाना रहेका छन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउन माग गर्दै रिले अनसन सुरु गरेका पोखरेलीलाई नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कुशकुमार जोशी, एमाले नेता प्रदिप नेपाल र एकिकृत नेकपा माओवादीका नेता लिलामणी पोख्रेलले अनसन स्थलमा पुगेर समर्थन जनाएका छन् । अनसन स्थल पुगेका एकिकृत नेकपा माओवादीका नेता लिलामणी पोख्रेलले केही दिनमा नै सकारात्मक सन्देश आउने बताए ।

आन्दोलनलाई रचनात्मक र दबाबमुलक बनाउन अनसन स्थलमा विभिन्न कलाकारहरुको टोलीले सांगितिक कार्यक्रम समेत गरिरहेका छन् । राष्ट्रिय तथा स्थानियस्तरका कलाकार तथा गायकहरुले विभिन्न भजन तथा चुड्काका माध्यमबाट सरकारलाई दबाब दिइरहेका छन् । आन्दोलनमा आज पनि विभिन्न संघ संस्थाले समर्थन जनाउदै आर्थिक सहयोग गरेका छन् ।

कमेन्टहरु
Loading...