नेकपा माओवादी सहितका ३३ दलद्धारा आमहड्तालसहितको आन्दोलनको घोषणा

काठमाडौ, १० असोज /निर्वाचनको विरोधमा रहेको नेकपा माओवादी सहितका ३३ दलले चुनावलाई असर पार्ने गरि आमहड्ताल सहितका विभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गरि मोर्चाले सशक्त विरोधका कार्यक्रम घोषणा गरेको हो । नेकपा(माओवादीका सचिव देव गुरुङले घोषित संविधानसभा विथोल्न कात्तिक २५ देखि मंसिर ५ सम्म आमहड्ताल गर्ने घोषणा गरेका छन् ।

उनीहरुले असोज १३ गते सबै जिल्लाका निर्वाचन आयोगका कार्यालयहरुमा मङ्सिर ४ को निर्वाचनको कार्यक्रम कार्यान्वयन नगर्न र नगराउन सचेतता पत्र बुझाउने बताएका छन् । असोज १६ गते निर्वाचन बहिष्कार सम्बन्धी प्रचा वितरण गर्ने उनीहरुले बताएका छन् । असोज १७ गते सबै जिल्ला सदरमुकामहरुमा ४ दलका शीर्ष नेताहरुको प्रतिकात्मक पुतला बनाई जलाउने पत्रकार सम्मेलनमा उनीहरुले जानकारी दिए ।

आन्दोलनका का्यक्रमहरु यस प्रकार छन्
१। अन्तर्राष्ट्रिय समुदायको रोहवरमा सम्पन्न भएको बृहत शान्ति सम्झौतालाई सरकारी पक्षबाट एकपक्षीय रुपमा भङ्ग गरी निर्वाचनको सुरक्षाको नाममा नेपाली सेना परिचालन गर्ने भनी गरिएको निर्णयबारे अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षणका लागि अपिल गर्ने ।
२। असोज १३ गते सबै जिल्लाका निर्वाचन आयोगका कार्यालयहरुमा बाह्य शक्तिहरुको प्रायोजनमा हुन लागेको मङ्सिर ४ को राष्ट्रघाती निर्वाचनको कार्यक्रम कार्यान्वयन नगर्न र नगराउन सचेतता पत्र बुझाउने ।
३। असोज १६ गते राष्ट्रघाती निर्वाचन बहिष्कार सम्बन्धी प्रचा वितरण गर्ने ।
४। असोज १७ गते सबै जिल्ला सदरमुकामहरुमा नेपाललाई सिक्किमीकरण गर्नका लागि राष्ट्रघाती तथा लेण्डुप दोर्जे जस्तो विदेशी दलाल बन्न तयार भएका ४ दलका शीर्ष नेताहरुको प्रतिकात्मक पुतला बनाई जलाउने ।
५। निम्न प्रकारका बाह्य हस्तक्षेपकारी गतिविधिहरुलाई अबिलम्व रोक्नुपर्ने –
भारतीय सुरक्षाकर्मीहरु बेरोकटोक नेपाल प्रवेश गरी खानतलाशी लिने र गिरफ्तार गर्ने गरेका घटनाहरुको छानबिन गरी दोषी उपर कार्बाही गर्न र त्यसप्रकारको हस्तक्षेपकारी घटनाहरु दोहोरिन नदिने व्यवस्था गरिनुपर्ने,
पोल्ट्रीफर्महरुमा भारतबाट आयातित वस्तुहरुबाट फैलाइएको बर्डफ्लूबारे छानबिन गरी दोषीउपर कारबाही गर्नु पर्ने,
विदेशी लगानीमा सञ्चालित राष्ट्रिय हित विपरितको माथिल्लो कर्णाली र अरुण तेस्रो लगायतका निर्यातमुखी मेगा परियोजनाहरुको पिडिए तयार गर्ने क्रम अबिलम्ब रोकिनु पर्ने,
बुद्ध भारतमा जन्मेको भनी लेखिएका भारतीय निजी विद्यालयस्तरका पाठ्यपुस्तकहरुमाथि रोक लगाउनुका साथै जिटिभीबाट प्रशारण गर्ने क्रम रोकिनुपर्ने,
अमेरिकन सैन्य विमानबाट झारिएका सामानहरु बारे सार्वजनिक रुपमा सु—सूचित गरिनुपर्ने ।
पेट्रोलियम पदार्थ लगायतका दैनिक उपभोग्य वस्तुहरुको बढाइएको मूल्य घटाइनुपर्ने ।
उपरोक्त विषयहरुलाई सम्बोधन गर्न नेपाल सरकारको प्रतिबद्धता नहुँदासम्म यही असोज १७ गतेदेखि भारतीय नम्बर प्लेटका सरकारी तथा निजी क्षेत्रका मालबाहक तथा यात्रुबाहक गाडीहरुलाई नेपाल प्रवेशमा रोक लगाउने ।
६। असोज १९ गतेदेखि कार्तिक १ गतेसम्म घरदैलो अभियान, साँस्कृतिक अभियान सञ्चालन गर्ने र उम्मेदवारहरुको घर–घरमा उम्मेदवारी फिर्ताको लागि पत्राचार गर्ने ।
७। देशभक्त तथा राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरुलाई ४ दलको राष्ट्रघाती कदममा साथ नदिन अपिल गर्ने ।
८। कार्तिक २ गतेदेखि राष्ट्रघाती विदेशी दलाल उम्मेदवारहरुलाई जिल्ला तथा गाउँ प्रवेशमा रोक लगाउने । दलाल उम्मेदवारहरुको घर अगाडि कालो झण्डा गाड्ने । दलाल उम्मेदवारहरुका विरुद्ध सामाजिक बहिष्कार अभियान सञ्चालन गर्ने ।
९। चार दलका राष्ट्रघाती शिर्ष नेताहरु जहाँ–जहाँ पुग्छन् उक्त दिन उक्त जिल्ला बन्द गर्ने ।
१०। प्रत्येक बुथ–बुथमा युवाहरुको बहिष्कार टोली गठन गरी बहिष्कार कार्यक्रमलाई प्रभावकारी बनाउने ।
११। कार्तिक २५ गतेदेखि मङ्सिर ५ गतेसम्म १० दिन देशव्यापी आम हडताल र नेपाल बन्द गरी मंसिर ४ को निर्वाचनलाई सक्रिय रुपले बहिष्कार गर्ने ।
१२। यथास्थितिको निर्वाचनको बहिष्कारको पक्षमा जुनुकै समूह वा घटकहरुले आन्दोलनका कार्यक्रमहरु सञ्चालन गरेपनि त्यसलाई समर्थन गर्ने ।

कमेन्टहरु
Loading...