आज मातातीर्थ औँसी, आमाप्रति श्रद्धाभाव प्रकट गरि मनाइँदै

पोखरा, २१ वैशाख । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी (शनिबार) आज मनाइँदैछ । जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मातातीर्थ औँसी  अर्थात आमाको मुख हेर्ने पर्व मनाउने गरिएको हो ।

पर्व पौराणिक कालदेखि मनाइँदै आइएको यो पर्वका अवसरमा बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ । यसदिन आमा नभएकाहरुले भने आमाको श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन । यसो गर्दा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्दै शास्त्रीय रुपमा नै जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन भनिएको छ । शास्त्रमा बाबुभन्दा आमा दश गुणा बढी मान्य हुन्छिन भनी व्याख्या गरिएको छ । मातृदेवो भवः भनेर सबैभन्दा पहिले भनिन्छ । त्यसपछि मात्र पितृदेवो भव, आचार्यदेवो भव भनिन्छ । यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ ।

दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औंसीमा काठमाडौंको मातातीर्थमा ठूलो मेला लाग्ने गर्दछ । मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ ।

आजको दिन घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुग्ने तथा जान नपाएकाहरुले टेलिफोन गरेरै भए पनि आमालाई सम्झने गर्दछन । कतिपयले सामाजिक सन्जालमा आमाको तस्वीर शेयर गरेर सम्मान भाव प्रकट गर्दछन ।

कमेन्टहरु
Loading...