सिरी ‘ए’ : फियोरेन्टिनामाथि युभेन्टसको शानदार जित, रोनाल्डोको अर्को गोल

काठमाडौं, मंसिर १६
इटालियन सिरी ‘ए’ फुटबलमा लिग लिडर युभेन्टसले लगातार जित दर्ता गरेको छ । गत राति भएको लिगको १४औं हप्ताको खेलमा उसले घरेलु टोली फियोरेन्टिनामाथि ०–३ को सहज जित निकालेको हो ।

अवे मैदानमा युभेन्टसलाई प्रभावशाली जित दिलाउन खेलको ३१औं मिनेटमा रोड्रिगोले सुरुआती गोल गरेका थियो । सोही गोलको मदतमा युभेन्टस पहिलो हाफमा ०–१ ले अगाडि रह्यो ।

त्यसपछि दोस्रो हाफमा युभेन्टसले २ गोल हान्यो । खेलको ६९औं मिनेटमा चिलिनीले गोल गरे । त्यसपछि ७९औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट गोल गरे । विपक्षी खेलाडीले डि–एरियामा ह्यान्ड बल गरेपछि युभेन्टसलाई पेनाल्टीको मौका दिइएको थियो ।

यससँगै रोनाल्डोे सिरी ‘ए’मा कूल १० गोल पूरा गरेका छन् । उनले ६ गोलका लागि असिस्टसमेत गरेका छन् । १४ खेलबाट रोनाल्डोले १० गोल र ६ असिस्ट गरेका हुन् ।

रोनाल्डोको गोलपछि उनलाई रेफ्रीले पहेंलो कार्ड दिएका थिए । गोलको खुसियाली मनाउन बललाई किकले आकाशतिर हानेपछि रेफ्रीले रोनाल्डोलाई कार्ड दिएका हुन् । त्यसपछि लगत्तै रोनाल्डोलाई सब्सिच्युट गरिएको थियो ।

रोनाल्डोको गोलपछि खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल युभेन्टसले ०–३ ले जित्यो । यससँगै युभेन्टसले लिगका १४ खेलबाट ४० अंक जोडेर लिगको सबैभन्दा सिरानमा छ । उसले यो सिजन १ खेल पनि हारेको छैन । १४ खेलमा १३ खेल जित्दा १ खेल बराबरी गरेको छ

कमेन्टहरु
Loading...