विश्वसम्पदा सूचीमा परेका १ सयभन्दा बढी मठमन्दिर पुनर्निर्माण कार्य शुरू

विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौं, पाटन र भक्तपुर दरबार क्षेत्रका करिब १ सयभन्दा बढी मठमन्दिर पुनर्निर्माण कार्य शुरू भएका छन्।

तीमध्ये करिब दुई दर्जन मन्दिरको निर्माण सम्पन्न भएको छ। २०७२ सालको शक्तिशाली भूकम्पले ध्वस्त र क्षतिग्रस्त मन्दिर पुनर्निर्माण कार्य सुस्त भइरहेको आरोप लागिरहेका बेला पुरातत्त्व विभाग र दातृ निकायको आर्थिक सहयोगमा पुरातात्त्विक संरचनाहरू धमाधम निर्माण भइरहेका छन्।

पछिल्लो तथ्याङ्कअनुसार काठमाडौंमा करिब आधा दर्जन निर्माण सम्पन्न भएका र एक दर्जन मन्दिर निर्माण सम्पन्नको चरणमा रहेका छन् भने करिब तीन दर्जन सम्पदा पुनर्निर्माणको प्रतीक्षामा रहेका छन्।

पाटन दरबार क्षेत्रमा आधा दर्जन मन्दिर र स्तम्भ निर्माण सम्पन्न भइसकेका छन् भने एक दर्जनभन्दा बढी निर्माण शुरू भइरहेका छन्। चालु आर्थिक वर्षमा दुई दर्जनभन्दा बढी मठमन्दिर, विहार र अन्य संरचना निर्माणको चरणमा रहेका छन्। भक्तपुरमा आधा दर्जन सम्पदा निर्माण सकिएको, एक दर्जनभन्दा बढी सम्पन्न हुने चरणमा रहेको छ भने दुई दर्जनभन्दा बढी निर्माण प्रक्रियामा रहेका छन्।

हनुमानढोका दरबार विकास समितिका कार्यकारी निर्देशक करुणा नकर्मीले हालसम्म नृत्येश्वरी, तलेजुको माथिल्लो भाग, शिवमन्दिर, पञ्चमुखी हनुमान, कागेश्वरी, सरस्वती मन्दिर निर्माण भइरहेको जानकारी दिनुभयो।

उहाँका अनुसार च्यासी देगः, तलेजु, दश अवतार जैसिदेवल, नौतले दरबार, गद्दी बैठक, जगन्नाथ, गोपीनाथ मन्दिर निर्माण चरणमा रहेका छन्।

कमेन्टहरु
Loading...