नेपाल फलफूलमा निर्भर हुन नसक्दा वर्षेनी ठूलो रकम बाहिरिने गरेको छ । केरा, स्याउ, सुन्तलाको खेती हुँदै आएपनि त्यसले मुलुकभरको माग धान्न नसक्ने भएकाले विदेशी फलफूल आयात गर्नै पर्ने बाध्यता छ । तर किसानले भने सरकारले फलफूल खेतीका लागि उपयुक्त वातावरण नबनाइदिएको र आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्नतर्फ नलागेको गुनासो गर्छन् ।

वर्षभरिमा फलफूल आयातको परिमाण हेर्दा करिब ७ अर्वको हाराहारीको रकम वर्षेनी बाहिरिने गरेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले जानकारी दिए । सरकारको फलफूलको आयातमा भन्सार मुल्याकंन बढाएकोले लागत बढेको उनले बताए ।

‘देशभित्रैको उत्पादनले धान्दैन, आयात गर्नुपर्ने अवस्थामा भन्सार बढाएर उपभोक्तालाई नै मार पर्ने हो’, उनले भने । यस वर्ष वर्षातका कारण फलफूल उत्पादन समेत घटेकाले आयात बढ्ने उनको भनाई छ ।