भूगोलका प्राध्यापकहरुको एक हप्ते रिमोट सेन्सिङ्ग कार्यशाला सकियो

पोखरा, २२ पौष/पौष १६ गतेदेखि पोखरामा सुरु भएको भूगोलका प्राध्यापकहरुको एक हप्ते रिमोट सेन्सिङ्ग कार्यशाला गोष्ठी आज सकिएको छ । पृथ्वीनारायण क्याम्पस भूगोल विभागको आयोजनामा भएको गोष्ठीको क्याम्पस प्रमुख गेहेन्द्रश्वर कोईरालाले समापन गर्दै भौगोलिक सूचना प्रणालीको महत्व तालिमवाट थप वढ्ने विश्वास व्यक्त गरे । उनले समाज विज्ञानको प्राविधिक पक्षलाई थप वलियो वनाउन सके भूगोलमा नयाँ पुस्ता आकर्षित हुने दावी गरे ।

क्याम्पस प्रमुख कोईरालाले क्याम्पसले प्राविधिक रोजगार मुलक पढाईलाई प्राथमिकताका साथ अगाडि वढाउने सोँचमा रहेको जानकारी दिए । भूगोल विभागका प्रमुख डाक्टर कृष्ण केसीले परम्परागत भूगोल विषयका लागि रिमोट सेन्सिङ्ग तथा भौगोलिक सूचना प्रणाली निकै प्रभावकारी हुने आशा व्यक्त गरे । प्रमुख केसीले भूगोल विषयमा घटेको नयाँ जनशक्ती वढाउन नयाँ विषयका पढाई थालिएको वताए ।

सह–प्राध्यापक कालीदाश शर्माले भौगोलिक विषयका विभिन्न नक्सा निर्माण तथा तिनीहरुको विश्लेषण छिटोछरितो गर्नका लागि रिमोट सेन्सिङ्ग विषय वढि उपयुक्त वन्ने बताए । तालिम समापन कार्यक्रममा प्रशिक्षक सरोज कोईराला, रामजी पोखरेल, खगेन्द्र पौडेल, नरेश पौडेल तथा सहभागी इलामको महेन्द्ररत्न वहुमुखी क्याम्पसका सहप्राध्यापक दिपक पौडेल लगायतले तालिमको बारेमा जानकारी दिएका थिए ।

विश्वविद्यालय अनुदान आयोग नेपालको सहयोग तथा पृथ्वीनारायण क्याम्पस भूगोल विभागको व्यवस्थापनमा कार्यशाला भएको थियो । गोष्ठीमा देशैभरीका विभिन्न क्याम्पसका २५ जना भूगोलका प्राध्यापकहरु सहभागी रहेको पृथ्वीनारायण क्याम्पस भूगोल विभागका अनुसन्धाता भानु पराजुलीले जानकारी दिए । भौगोलिक सूचना प्रणाली तथा रिमोट सेन्सिङ्ग विषयलाई अझ व्यापक रुपमा कलेजमा पठनपाठन वढाउनुपर्ने माग वढेको भूगोलका विभागिय प्रमुख डाक्टर कृष्ण केसीले वताए । यो विषय नेपालको भूगोल विभागको केन्द्रिय विभाग, पृथ्वीनारायण क्याम्पसमा स्नातकोत्तर तह र केही अन्य क्याम्पसमा स्नातक तहमा मात्रै पढाई हुँदै आएको छ ।

यसैगरी यस विषय ईन्जिनियरिङ्ग क्याम्पसको सिभीलतर्फका विभिन्न तहमा पनि पढाई भएको पाईएको छ । भौगोलिक सूचना प्रणालीका विभिन्न सूचना संकलन गर्ने माध्यम मध्ये रिमोट सेन्सिङ्ग पनि एउटा गतिलो माध्यम हो । कुनैपनि कयौं टाढा भएका भौगोलिक तथा अन्य घट्नाहरु भौगोलिक सूचना प्रणाली तथा रिमोट सेन्सिङ्गको माध्यमवाट सकिजै अध्ययन र अनुसन्धान गरी त्यसको वारेमा यथार्थ जानकारी निकाल्न सकिन्छ ।

विभागले यसवर्ष गएको वैशाख २३ गते कास्कीमा आएको ठूलो हिमाली वाढीका विषयमा समेत गहिरो अध्ययन गरी त्यसको वास्तविकता नागरिक सामु ल्याउने काम गरेको थियो । विभागले विभिन्न समयमा स्थलगत तथा सैद्धान्तिक रुपमा हिमालका वारेमा गरेको अध्ययनको रिपोर्ट सार्वजनिक गरेको प्रमुख डाक्टर कृष्ण केसीले जानकारी दिए ।

कमेन्टहरु
Loading...