फुलपातिकै दिन ३२ हजार कर्मचारीको जागिर चैट हुँदै

काठमाडौं, २६ असोज । यो पटकको दशैं ३२ हजार कर्मचारीको लागि खल्लो हुने भएको छ । विभिन्न मन्त्रालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीलाई असोज ३० गतेदेखि सरकारले बिदा गर्ने भएपछि उनीहरुको दशैं खल्लो हुने भएको हो । सरकारले गत जेठमा साउन १ गतेदेखि करार तथा ज्यालादारीमा कर्मचारी नराख्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध करार तथा ज्यालादारी कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।

आन्दोलनपछि सरकारसँग तीन महिनाका लागि करार अवधि थप गर्ने र यसबारे कार्यदल गठन गरी सोको प्रतिवेदनका आधारमा निर्णय गर्ने सहमतिपछि असार अन्तिम साता आन्दोलन टुंगिएको थियो ।साउन १ गतेदेखि करार तथा ज्यालादारी कर्मचारीले हाजिर गर्न नपाएपछि सरकार पूर्वसहमतिबाट पछि हटेको भन्दै करार तथा ज्यालादारी कर्मचारी आन्दोलित भएका थिए । उनीहरूले २४० दिन काम गरिसकेपछि स्थायी हुनुपर्ने माग गर्दै आएका छन्। आफ्ना माग पूरा नगरे सिंहदरबार नै ठप्प पार्ने उनीहरूले सरकारलाई चेतावनी दिँदै आएका छन् ।

यता सरकारले भने संघदेखि जिल्ला र स्थानीय तहसम्मका कार्यालय खारेज र मर्ज भएपछि करार, ज्याला र अस्थायीमा कार्यरत ती कर्मचारी आवश्यक नभएको निष्कर्ष निकालेको थियो ।

कमेन्टहरु
Loading...