पोखरामा भेटिए हात्ती पाईलेका विरामी

पोखरा, २४ माघ/पोखरामा हात्ती पाईले रोगी भेटिएका छन् । पोखरा उपमहानगरपालिका वडा नं ८ मा तीन जना रोगी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार वडा नं ९ मा दुई र वडा नं ४ मा एक जना रोगी भेटिएको आशंका गरिएको छ । वडा नं ८ मा भेटिएको एकजनाको पुष्टि भएको छ । भेटिएको रोगीलाई पोखरा नागढुंगास्थित फेवासिटी हस्पिटलमा स्वास्थ्य परिक्षण गरिएको थियो । परिक्षणपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट समेत रहेका डा. बुद्धिबहादुर थापाले हात्ती पाईले भएको पुष्टि गरेपछि विरामीलाई २१ दिनको लागि निशुल्क औषधी प्रदान गरिएको थियो ।

पोखरा उपमहानगरपालिकाको विभिन्न ठाँउमा हात्ती पाईले विरुद्धको अभियान शुरु गरिएको छ । अभियानकै क्रममा स्वास्थ्य स्वयंसेवकले रोगी भेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयमा खबर गरेका थिए । हात्ती पाईले अभियानमा खटिएका भेट्रोल कन्ट्रोल निरिक्षक यम बरालका अनुसार ५० वर्षिय सुरेन्द्रप्रसाद गुप्ताको स्वास्थ्य परिक्षणपछि हात्ती पाईले पुष्टि भएको हो । ‘फेवा सिटी हस्पिटलमा उपचार गरेपछि हात्ती पाईले भएको पुष्टि चिकित्सकले गरिदिएका हुन् ।’ उनले भने–‘अन्य विरामी पनि छन् तर उपचारबाट पुष्टि भईसकेका छैनन् ।’ वडा नं ८ मा नै तीन जना रहेको बताउँदै उनले दुई जना कामदार रहेकोले परिक्षण गरी पुष्टि गरिने बताए । गुप्ता विगत दशवर्षदेखि पोखरा बस्दै आएका छन् ।

‘स्वास्थ्य सेवकले अध्ययन गरेका छन् । घरदैलो अभियानबाट विरामीहरु आफैं खुलेर आउन थालेका छन् ।’ उनले भने–‘विरामी स्वयं खुलेर आउन थालेपछि यकिन तथ्यांक संकलन गरिने छ र उनीहरुको उपचार गरिने छ ।’ वडा न. ८ र ९ मा भारतीय कामदारहरुको बढी बसोबास रहेकोले दुई वडालाई सम्वेदनशिल रुपमा स्वास्थ्य स्वयंसेवकले घरदैलो अभियान गरेको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका क्षयकुष्ठ अधिकृत बसन्तनाथ भट्टराईले बताए । उनका अनुसार घरदैलो अभियानको क्रममा केहीले औषधी मागेपछि हात्ती पाईलको आशंका गरिएको हो । ‘खुट्टा छोपेर राखिन्छ । त्यसले गर्दा पनि विरामी पहिचान हुन कठिनाई छ ।’ बरालले भने–‘आफैं खुलेर आउन थालेपछि केही सहज भएको छ ।’

लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाईले रोग निवारण अभियान अन्र्तगत पोखरामा चौथो चरणको कार्यक्रम शुरु गरिएको छ । हात्तीपाइले रोग फैलिनबाट रोक्न, विरामीको संख्यामा कमी ल्याउन र हात्तीपाईले रोगका विरामीहरुमा दिर्घरोग, असक्त र कुरुपता हुनबाट बचाउनको लागि अभियान संचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले जनाएको छ ।

हात्तीपाईले रोग लागेपछि यसको उपचार छैन भने विरामीले औषधी सवेन गरेपछि अरुलाई सर्दैन र रोगबाट भएको कुरुपताको अवस्थालाई व्यवस्था गर्न सकिन्छ तर, पहिलेको अवस्थामा भने फर्काउन सकिदैन् । हात्तीपाईले रोग लागेमा जाडो हुने, ज्वरो आउने, शरीर काप्ने, हात खुट्टा सुनिने, खोकी लाग्नु लगायतका बाहिरी लक्षण देखिने बरालले बताए । तर, लामो समयसम्म बाहिरी लक्षण नदेखिएर भित्री अंगलाई समेत असर गर्ने भएकोले त्यस विरुद्धको औषधि अनिर्वाय ्सेवन गर्न जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले आग्रह गरेको छ । हात्तीपाईले विरुद्धको औषधि २ बर्ष मुनिका बालकालिका, गर्भवती महिला, दिर्घरोगी, सिकिस्त विरामीले सेवन गर्न नहुने चिकित्सकले बताएका छन् ।

लामखुट्टेको टोकाइबाट सर्ने हात्तिपाईले रोगबाट जोगिन बर्षमा एकपटक ६ बर्षसम्म दुई प्रकारको औषधि डीईसी र अल्बेन्डाजोल एकै पटक सेवन गर्नुपर्दछ । खाली पेटमा औषधि सेवन गर्नै हुदैन भने औषधी सेवनपछि कसैलाइ टाउको दुख्ने, ज्वरो आउने, वाकवाकी लाग्ने, बान्ता हुने, रिङगाटा लाग्ने जस्ता असर देखिनु सामान्य भएकोे बरालले बताए । रोगको जिवाणु बढि भएकाहरुलाई औषधिको असर देखिने सक्ने भएकोले त्यसबाट आत्तिन नहुने र अलिबढि नै असर गरेमा नजिकैको स्वास्थ्य संस्था तथा अस्पतालमा सम्पर्क गर्न जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

कास्कीमा ४ लाख ७२ हजार २ सय ६ जनालाई हात्तीपाईले विरुद्धको औषधि खुवाउने तयारी जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले गरेको छ । हात्तीपाईले रोग विरुद्धको औषधि खुवाउन कास्कीका ३ सय स्वास्थ्यकर्मी र २ हजार ४ सय स्वयमसेवक परिचालन गरिएको छ । नेपालको कुल जनसंख्याको ९० प्रतिशत जनाता हात्तीपाईले रोगको जोखिम युक्त क्षेत्रमा बसोबास गर्ने तथ्याङ्कले देखाएको छ । सन २००३ मा कास्कीमा गरिएको सर्भेक्षण अनुसार सर्भेक्षण गरिएको कुल जनसंख्याको १३ प्रतिशत हात्ती पाईले विरामी भेटिएको थियो ।

कमेन्टहरु
Loading...