पोखरामा चर्को आवाज दिने मोटरसाइकल नियन्त्रणमा लिन आइजीपी खनालको निर्देशन

पोखरा । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले पोखराको लेकसाइडलाई चौबीसै घण्टा खुलाउन आवश्यक सुरक्षा व्यवस्था दिन प्रहरी सक्षम रहेको बताएका छन् । मंगलबार संघीय प्रहरी इकाइ कार्यालय पोखराको नवनिर्मित कार्यालय भवन उद्घाटन तथा व्यारेक भवन शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।

महानिरीक्षक खनालले शान्तिसुरक्षा स्थापनामा नेपाल प्रहरी सक्षम रहेको बताए । उनले नचाहिने गतिविधि गर्नेलाई तत्काल प्रहरी कठघरामा उभ्याइने चेतावनी दिए । चर्को आवाज दिने मोटरसाइकल नियन्त्रणमा लिन र रातिको समयमा हुलहुज्जत गर्नेलाई तत्काल पक्राउ गर्न उनले गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेलाई निर्देशन दिए ।

लेकसाइड क्षेत्र चौबीसै घण्टा खोल्नका लागि आफू सकारात्मक रहेको उनको भनाइ छ । विगतमा मुस्कानसहितको सेवा भनिए पनि त्यो प्रभावकारी नभएको टिप्पणी उनले गरे । उनले आफ्नो पालामा ल्याइएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम निकै प्रभावकारी बन्दै गएको दाबी गरे । उनले व्यवसायलाई पनि पैसा कमाउने मात्र नहेरी मर्यादामा रहेर व्यवसाय गर्नुपर्ने सुझाव दिए ।

२ करोड ७८ लाख ७० हजार रुपैयाँ लागतमा १६ कोठा भएको साढे २ तले भवन निर्माण गरिएको हो । यस्तै उनले ३ करोड २५ लाख लागतमा बन्ने संघीय प्रहरी कार्यालयको व्यारेक भवनको पनि शिलान्यास गरेका थिए ।

कमेन्टहरु
Loading...