परिवार नियोजन गर्न गएकी महिलाको आन्द्रा काटियो

राजविराज – सप्तरीकी एक महिलाको परिवार नियोजनको शल्यक्रिया गर्दा सानो आन्द्रा काटिएको खुलेको छ  ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा परिवार नियोजन गर्दा आन्द्रा काटिएकी सप्तरी विष्णुपुर गाउँपालिका-५ की २८ वर्षीया अनुकुमारी यादव तीन सातादेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी छन्।

परिवार नियोजनको शल्यक्रिया गरेर घर फर्केपछि अनुलाई खानेकुरा खाँदा बान्ता आउने, पेट फुल्ने समस्या भयो। सिकिस्त बिरामी भएपछि फागुन १२ गते पुनः उनलाई सगरमाथा अस्पताल भर्ना गरियो। तर, चिकित्सकले परिवार नियोजन गर्दा यस्तो समस्या आइरहने भन्दै थप उपचारका लागि प्रतिष्ठानमा रेफर गरिदिए। उनलाई फागुन १४ गते धरानस्थित प्रतिष्ठानमा भर्ना गरियो। प्रतिष्ठानमा अनुको भिडियो एक्स-रे गर्दा आन्द्रा काटिएको पत्ता लागेको हो।

अनुकुमारी गत फागुन ११ गते सगरमाथा अस्पतालमा परिवार नियोजन गर्न पति मोमेन्द्रका साथ भर्ना भएकी थिइन्। उनको परिवार नियोजनको शल्यक्रिया अस्पतालका डा. ब्रजेशकुमार झाले गरेका थिए। अनुको उपचारमा संलग्न प्रतिष्ठानका डा. राकेश गुप्ताले अनुको सानो आन्द्रा काटिएको र पेटभरि दिसा बगेर संक्रमण फैलिसकेको अवस्थामा पुनः शल्यक्रिया गरिएको बताए।

प्रतिष्ठानको सर्जरी वार्डमा उपचाररत अनुले चिकित्सकको लापरवाहीका कारण आन्द्रा काटिएको बताउँदै भनिन्, ‘म बिरामी भएपछि नाबालक दुई छोरी र एक छोराको लालनपालनमा समेत समस्या भएको छ। मेरो आन्द्रा काटिदिने डाक्टरलाई कडा कारवाही होस्।’

कमेन्टहरु
Loading...