नेपाली ध्वजा बाहक विमानको जापान सिधा उडान

नेपाली ध्वजा बाहक विमानले भदौ १२ गतेबाट काठमाडौँ जापान सिधा उडान गर्ने भएको छ । नेपाल वायुसेवा निगमले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौँ ओसाका काठमाडौँ उडान हुने बताएको हो । भदौ १२ गतेबाट जापानको ओसाकामा नियमित उडान गर्ने तयारी गरिरहेको निगमले टोकियोमा पनि उडान गर्ने भएको नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले जानकारी दिए । पत्रकार सम्मेलनमा अध्यक्ष खरेलले आगामी जनवरीको पहिलो साता काठमाडौँ टोकियो काठमाडौँ पनि उडान हुन सक्ने बताए ।

निगमले साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार ओसाका उडान गर्ने तालिका रहेको बताएको छ । काठमाडौं ओसाकाको उडान समय ६ घण्टा ३० मिनेटको हुने निगमले बताएको छ । यस्तै काठमाडौँदेखि जापानको नारिता विमानस्थल सम्मको उडान सम्बन्धमा पनि धेरै प्रक्रियागत कामहरु भैसकेको निगमले बताएको छ । नारिता विमानस्थलमा उडान गर्न निगमले पठाउनु पर्ने आवश्यक सम्पूर्ण कागजातहरु पठाइसकेको अध्यक्ष खरेलले जानकारी दिए । निगमले वाईडबडी ल्याएको करिब १४ महिनापछि नयाँ गन्तव्यमा उडान गर्न थालेको हो । निगमले ओसाकामा हुने सबै उडान वाइडवडी ए३३०–२०० बाट हुने जनाएको छ ।

कमेन्टहरु
Loading...